आधारभुमि संवाददाता
काठमाडौँ,२७ असार
अहिले देशबाट दैनिक ९ सय देखि १ हजारको हाराहारीमा युवा विदेशीने गरेका छन् । यसरी काम गर्ने युवा विदेशीए पछि देशका खेतीयोग्य जमिन भने बाँझोमा परिणत हुँदैछन् । देशमा बाझिने जग्गा वर्षेनि बढ्दै गएपछि विदेशबाट आयात हुने कृषिजन्य उपजको परिमाण पनि बढ्दै गएको छ । कृषिप्रधान भएपनि नेपालमा खेतीयोग्य जमिन बाँझो राख्ने क्रम प्रत्येक वर्ष बढ्दो छ । गत वर्ष ८४ हजार हेक्टर भूमि बाँझो रहेकामा यो वर्ष बाँझो राखिएको जमिन ९० हजार हेक्टर पुगेको छ ।
एकातिर जमिन बाँझो राख्ने प्रवृत्ति बढेको छ भने अर्कातिर कृषिजन्य वस्तुमा विदेशमाथि परनिर्भरता बढेको छ । यो वर्षको नौ महिनामा मात्रै देशमा ७६ अर्बको कृषिजन्य बस्तुको आयात भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ७७ अर्ब ८८ करोडको कृषिजन्य वस्तु आयात भएकामा गत आर्थिक वर्ष कृषिजन्य वस्तुकै लागि ८३ अर्ब ४१ करोड रुपैयाँ बाहिरियो । यो आर्थिक वर्ष नौ महिनामै ७६ अर्ब १० करोड रुपैयाँका कृषिजन्य वस्तु आयात भइसकेका छन् ।
कृषि मन्त्रालयले ५० लाख टनभन्दा बढी धान उत्पादन हुने गरेको बताएपनि चामलको आयात वर्षेनि बढ्दो छ । जबकि कृषि उपजमा धानको हिस्सा सबैभन्दा धेरै छ । ९ महिनामा चामल मात्र २४ अर्ब २५ करोड रुपैयाँको आयात भएको छ । तरकारी तथा फलफूलको आयात पनि प्रत्येक वर्ष बढ्दो छ । आयातको तुलनामा निर्यात भने निकै न्युन छ । कामको खोजीमा युवाशक्ति विदेशिने क्रम बढेसँगै देशका विभिन्न भुभागमा बाझोहुने जमिन पनि बढ्दैछ । युवा जनशक्ति कामको खोजिमा जाने र देशको कृषियोग्य भूमि बाजोमा परिणत हुनु सुखद सन्देश होइन ।
दैनिक बाहिरिने जनशक्तिलाई यहि उत्पादनमुलक कृषि उद्योगमा आवद्ध गराउन सकेमात्रै बढ्दै गएको ब्यापार घाटा न्युनिकरण गर्न सकिन्छ । तर सरकारले सार्वजनिक गरेको बजेटमा भने कृषि उद्यम गर्नेलाई खास आकर्षण गर्ने योजना नै आएका छैनन् ।
देशका युवालाई खाडीमा पठाउने र फेरी भारत तथा चीनबाट कृषिजन्य उपजहरु आयात गर्ने अर्थतन्त्रका लागि पक्कै राम्रो होइन । बरु बिदेश जाने युवालाई स्वदेशमै रोकेर उत्पादन बढाई निर्यात गर्न सके यसले बल्ल देशलाई दिर्घकालमा फाइदा पु¥याउथ्यो ।