neapl investment mega bank neapl investment mega bank

काङ्ग्रेस बैठक बस्दै

Jan 24th, 2019

काठमाडौँ, १० माघ 
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समिति बैठक विहिवार  पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । 
बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 
पार्टीको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावलाई मध्यनजर गरी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको थियो । 
केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । 
काङ्ग्र्रेसको भ्रातृ संस्था नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । 
त्यस्तै अनशनरत डा गोविन्द केसीका माग र आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताललाई वर्तमान सरकारले विघटनको प्रक्रियामा लगेको विषयमा पनि बैठकमा समीक्षा हुने बताइएको छ । रासस