• गृहपृष्ठ
  • बैदेशिक लगानीमा ३४ प्रतिशतको कमि, फागुनसम्म जम्मा १० अर्ब १८ करोड मुलुक भित्रियो

बैदेशिक लगानीमा ३४ प्रतिशतको कमि, फागुनसम्म जम्मा १० अर्ब १८ करोड मुलुक भित्रियो

Apr 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत ३१

महामारीले गर्दा बिदेशबाट आउने लगानी प्रभावित भएको छ। गत वर्षको तुलनामा यस्तो लगानी ३४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको फागुन मसान्तसम्म १५ अर्ब ६१ करोड रकम मुलुक भित्रिएको थियो । तर यो वर्षको सोहि अवधिमा यस्तो रकम १० अर्ब १८ करोडमा सिमित भएको छ । जुन गत वर्षको तुलनामा करिब ३४ प्रतिशतले कम हो ।

बिश्वभरका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका कारण बैदेशिक लगानी भित्रन नसकेको हो ।खुद रकम के कति भित्रियो भन्ने नेपाल राष्ट्र बैंकले आकडा राख्छ । उद्योग विभागले लगानी स्वीकृत गरेपनि रकम ल्याउन भने राष्ट्र बैंकको अनुमति चाहिन्छ । उद्योग विभागका अनुसार बैदेशिक लगानी स्वीकृतिमा खासै कमि आएको छैन । तर बैदेशिक लगानी बापत मुलुक भित्रिने रकममा भने भारी गिरावट आएको छ ।

यसैगरि फागुनमसान्तसम्म पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई ११ अर्ब ९१ करोड कायम भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब १५ करोड थियो ।

त्यस्तै खाता १ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब १९ अर्ब ७० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ ।

फागुनमसान्तसम्म शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ ।

अघिल्लो वर्षको तुलनामा सोधानान्तर स्थिती बचतमा रहेको देखिएपनि अन्तर्राष्ट्रिय ब्यापार बिस्तार भएसँगै भने सोधानान्तर बचत कम हुँदै गएृको छ ।बिदेशबाट रेमिट्यान्स मार्फत रकम आएका कारण सोधानान्तर स्थिती बचतमा देखिएको हो । यदि रेमिट्यान्समा कम हुन्थ्यो भने यसको सोझो असर सोधानान्तर बचतमा नै पर्ने थियो ।

किनकी निर्यातजन्य उद्योगको स्थापना हुन सकेको छैन । जसका कारण बाहिर सामान पठाएर आयात गर्ने स्थिती निकै कम छ । वार्षिक १ खर्ब बराबरको सामान पनि निर्यात गर्न मुस्कील रहेको देशले आयात भने झन्डै १४ खर्ब बराबरको गर्छ ।

बिदेशी लगानीमा आएको कमि र निर्यातमा बृद्धि हुन नसक्दा पनि रेमिट्यान्सको बृृद्धिले मुलुकलाई अहिलेसम्म सोधानान्तर बचतमा राखिरहेको छ ।