• गृहपृष्ठ
  • स्व. चन्द्र बहादुर गुरुङको स्मृतिसभा सम्पन्न

स्व. चन्द्र बहादुर गुरुङको स्मृतिसभा सम्पन्न

Oct 23rd, 2019

काठमाडौं, ६ कात्तिक
संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले संविधानसभामा तत्कालीन राप्रपा नेपालका संसदीय दलका नेता चन्द्र बहादुर गुरुङले आफ्नो पार्टीले लिएको निष्ठाप्रति अविचलित र अडिक भएर प्रस्तुत हुने नेताका रुपमा स्व. चन्द्रबहादुर गुरुङलाई चित्रण गर्दै उहाँका राम्रा पक्षको अनुशरण गरेर अगाडि बढ्न राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

तत्कालिन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व. चन्द्र बहादुर गुरुङको चौथो वार्षिक पूण्य तिथिको अवसरमा ‘स्व. चन्द्र बहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’द्वारा आयोजित स्मृति सभालाई सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेम्वाङले सो कुरा बताउनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विचार र सिद्धान्तका हिसाबले कांग्रेस र कम्यूनिष्टको विकल्प राप्रपा मात्र भएको बताउनुभएको छ । अध्यक्ष थापाले संविधानसभाको पहिलो बैठकमा संसदीय दलका नेता चन्द्र बहादुर गुरुङले पार्टीको अडान राजसंस्था सहितको लोकतन्त्र र हिन्दु राष्ट्रको पक्षमा डटेर आवाज वुलन्द गरेको र त्यसलाई निरन्तर रुपले अगाडि बढाएकै कारण आज आम राष्ट्रवादीहरुले राजा सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रका बारेमा खुलेर बोल्न सक्ने वातावरण सिर्जना भएको बताउँदै स्व गुरुङको सिद्धान्तप्रतिको निष्ठा, कर्तव्य परायणता एवं अनुशासन लाई शिक्षको रुपमा लिएर राप्रपाका आम नेता तथा कार्यकर्ताले अनुशरण गरि व्यवहारमा उतारेमा राप्रपाको प्रगतिलाई कसैले छेक्न नसक्ने स्पष्ट पार्नुभयो ।

परिवर्तनका नाममा परिवर्तनका संवाहक भन्ने राजनीतिक दलहरुको गलत मार्गचित्रका कारण देशको आर्थिक अवस्था जर्जर भएको उल्लेख गर्दै अध्यक्ष थापाले नेपाली युवाहरुको रगतर पसिना विदेशमा निर्यात गरेर आएको रेमिट्यान्सले देश चल्नु दुर्भाग्य रहेको बताउनुभयो । 

भएका उद्योगधन्दा नष्ट गर्नु, व्यक्तिगत एवं समुहगत स्वार्थकै लागि राजनीतिमा अपराधिकरण बढ्नु, भ्रष्टाचार मौलाएर जानु लगायत विकसित मुलुकको परिस्थितीलाई नियाल्दा परिवर्तनकारी राजनीतिक दलहरुको अकर्मण्यता पुष्टि भएकोले यसलाई निराकरण गर्न सक्षम राजनीतिक दलको रुपमा आम नेपाली जनताले राप्रपालाई हेर्न थालेको प्रशंग उल्लेख गर्दै अध्यक्ष थापाले विचार मिल्ने पार्टी एवं संगठनहरुसँग एकता र सहकार्य गर्दै पार्टीलाई अग्रणी स्थानमा पु¥याउने उद्घोष गर्नुभयो ।

सम्बोधनकै क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जुझारु एवं मृदुभाषी नेता स्व. चन्द्र बहादुर गुरुङको अल्पायुमै निधन भएकोमा दुःख व्यक्त गर्दै अहिलेको अवस्थामा उहाँजस्ता निर्भिक नेताको खाँचो टड्कारो रहेको बताउनुभयो ।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दिपक बाेहोरा, उपाध्यक्ष तोरण बहादुर गुरुङ र प्रतिष्ठानका सदस्य सचिब चन्द्र बहादुर गुरुङ ‘रमेश’ लगायतले स्व. गुरुङको योगदानप्रति चर्चा गर्नुभएको थियो भने पार्टीका सहायक महामन्त्री राजाराम वर्तौलाले स्व गुरुङको संक्षिप्त जीवनी माथी प्रकाश पार्नुभएको थियो ।