• गृहपृष्ठ
  • तीस प्रतिशत नगरवासी अझ पनि खुल्ला ठाउँमा शौच गर्दै

तीस प्रतिशत नगरवासी अझ पनि खुल्ला ठाउँमा शौच गर्दै

Oct 23rd, 2019

वीरगञ्ज, ६ कात्तिक (रासस)

प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् ।

३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला चौरमै दिसापिसाब गर्न रुचाउने गरेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो ।

ती वडाका बासिन्दा आर्थिकरुपमा सम्पन्न भए पनि प्रत्येक घरमा शौचालय हुँदाहँुदै जनचेतनाको अभावको कारण बाहिरनै दिसापिसाब गर्ने गरेकाले महानगरपालिकाले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने सोच बनाएको  छ ।

महानगरपालिकाले ३२ वटै वडामा चर्पी त बनायो तर त्यहाँका मानिसको बानीमा परिवर्तन नहुँदा बाटो घाटो तथा खुला चौरमा दिसापिसाब गर्ने गरेको भनाइ प्रमुख कर्णको छ । शौचालय नबनाई खुला चौरमा दिसापिसाब गर्नेलाई कस्तो कारवाही गरिने भन्ने जिज्ञासामा नगरप्रमुख विजयकुमार सरावगीले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

३२ वडामध्ये ३० वटा वडामा सार्वजनिक शौचालय रहे पनि महानगरपालिकाले यात्रुको सुविधालाई ध्यानमा २५ सेट घुमटी शौचालय सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान शुरु भएको हो । वीरगञ्ज महानगरपालिकाले यो अभियानअन्तर्गत शून्य अनुदानमा घरघरमा चर्पी बनाउने कामलाई कार्यान्वयनमा ल्याएपछि घरघरमा चर्पी निर्माण गरिएको हो । प्रदेश नं २ मा नौ लाख ३३ हजार ६४९ घरधुरीमा शौचालय बनेको छ ।