• गृहपृष्ठ
  • आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा

आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा

Oct 16th, 2019

विराटनगर, २९ असोज (रासस)

आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । 
    
जिल्ला  निर्वाचन कार्यालय मोरङले दिएको जानकारीअनुसार मोरङको धनपालथान गाउँपालिकाको वडा नं  २ को वडाध्यक्षको मृत्यु भएको कारण उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी उम्मेदवार बलिराम  भगतको २०७५ जेठ २४ गते मृत्युको भएको थियो । उक्त स्थानमा हुने उप निर्वाचनमा चार हजार १४२ मतदाताले मतदान गर्ने छन् । अमाही गाउँपालिका केन्द्र र जनता माध्यमिक विद्यालय मझौवरियाती गरी दुई मतदानस्थलमा पाँच केन्द्र रहने कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले बताउनुभयो ।

गाउँपालिका भवनमा रहेको मतदानस्थलको दुई केन्द्रमा एक हजार ८३५ र जनता मावि मतदानस्थलको तीन केन्द्रमा दुई हजार ३०७  मतदाताले मतदान गर्ने छन् । साउन १७ गते अगाडि १८ वर्ष पुगेका नेपाली नागरिकले उक्त उपनिर्वाचनमा मतदान गर्न पाउने छन् ।    

उपनिर्वाचनको शान्ति सुरक्षाकालागि आवश्यक्ता अनुसर सशस्त्र र नेपाली प्रहरीको व्यवस्था हुने सूचना अधिकृत अधिकारीले जानकारी दिनुभयो । प्रत्येक मतदान केन्द्रमा न्यूनतम नौदेखि ११ जना कर्मचारी खटाइने भएको छ । उक्त उप निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय केन्द्रीय निर्वाचन आयोग कार्यालयले तोकेबमोजिम स्थापना हने उहाँको भनाइ छ । मोरङ जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार ९८१, पुरुष तीन लाख ४१ हजार ४१२ र तेश्रो लिङ्गी दुई जना गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता रहेका छन् ।

प्रदेश नं १ अन्तर्गतको पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष र फिदिम नगरपालिकाको वडा नं १ र ७ का वडाध्यक्ष, मोरङको धनपालथान गाउँपलिकाको वडा नं २ का वडाध्यक्ष, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र वडा नं ७ का वडाध्यक्षको उपनिर्वाचन हँुदैछ ।

यसैगरी सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष, खाँदबारी गाउँपालिका–३ को वडाध्यक्ष, खोटाङ जिल्लाको साकेला गाउँपालिका वडा नं ३ को वडाध्यक्ष र  भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष गरी  छ जिल्लाका १० विभिन्न पदमा उपनिर्वाचन हुने भएको छ । निर्वाचनको विषय लिएर मोरङको धनपालथान गाउँपालिकामा राजनीतिक चहल पहल शुरु भएको छ ।