• गृहपृष्ठ
  • कमला नदीको किनारमा भेटिएको सकेट बम निष्क्रिय

कमला नदीको किनारमा भेटिएको सकेट बम निष्क्रिय

Oct 14th, 2019

लहान, २७ असोज (रासस)

सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो ।

बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ । कामदारहरुले बम देखेपछि तत्कालै प्रहारीलाई खबर गरेका थिए । बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरी उपरीक्षक चर्तुवेदीले बताउनुभयो ।
                                          
किशोरीलाई जवर्जस्ती गर्न खोजेको आरोपमा पक्राउ

छिमेकी एक बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–८ का मो। रहिम मन्सुरलाई पक्राउ गरेको छ । घरमा कोही नभएको मौका पारी गत शनिबार राति १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मन्सुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमै प्रवेश गरी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेको र बालिका चिच्चाएपछि स्थानीयवासीले किशोरीलाई उद्धार गरेका थिए । उद्धार गरिएकी बालिकाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो । पीडित बालिकाले दिएको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुयो ।

विस्फोटक पदार्थ पटकासहित दुई युवक पक्राउ

विस्फोट पदार्थ पटकासहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका–१९ बाट करीब रु २० हजार मूल्य बराबरको विस्फोटक पदार्थ पटकासहित सिरहाको गोलबजार नगरपालिका–८ निवासी २१ वर्षीय शम्भू साह र २४ वर्षीय रुबेल मण्डललाई पक्राउ गरेको हो । 

भारतीय बजारतर्फबाट स६प १७९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई शङ्का लागेर जाँच गर्दा ती विस्फोट पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकामाथि आवश्यक कारवाही अघि बढाएको प्रहरीको भनाइ छ ।