neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात

गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात

Mar 9th, 2020

पोखरा, २६ फागुन (रासस)

औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए । नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले हल्ला गरिएजस्तो औषधि अभाव नरहेको तर पछिल्लो समय मास्कको मूल्य केही वृद्धि भएको बताउनुभयो ।

उहाँले केही औषधि भन्सारमा रोकिए पनि डर मान्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरसविरुद्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले बजारमा खाद्य सामग्री तथा औषधिको अभाव हुन नदिन तथा आपूर्ति प्रणाली सहज बनाउनेतर्फ सङ्घले सबै सरोेकारवाला निकायसँग सहकार्य गरेको उल्लेख गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले कोरना भाइरसविरुद्धको सचेतना अभियानलाई चुस्त बनाउँदै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट कोरोनाबारे जानकारी दिँदै डा राजीव लालचनले भाइरलको उपचार एण्टिबायोटिकबाट सम्भव नभएको हुँदा यसबारे सचेतना अपनाउन सबैसँग आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्माले व्यवसायीलाई सङ्कटको बेला उपभोक्ता भएर हेर्न आग्रह गर्नुभयो ।

औषधि व्यवसायी कृष्ण पाण्डे, औषधि व्यवसायी सङ्घ अध्यक्ष विक्रम पन्त, औषधि व्यवसायीका केन्द्रीय सदस्य टङ्क अधिकारी, उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य रामबहादुर केसीलगायतले कोरोनाविरुद्धको प्रभावकारी सचेतना अभियान चलाउन सरोकारवालासँग आग्रह गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi