neapl investment mega bank

एभोकाडोको खेती तथा बजार विस्तार हुँदै

Feb 3rd, 2020

–टीका खतिवडा
मङ्गलबारे, २० माघ (रासस)

इलाम बजारका फलफूल व्यापारी बालकुमार पोख्रेलले बेच्नका लागि जति एभोकाडो खोज्नुभयो तर मागअनुसार पाउन सक्नुभएन । एक विशेष प्रकारको फलका रुपमा परिचित एभोकाडोको उत्पादन कम भएको र यसको माग बढी भएका कारण उहाँले चाहे जति पाउन सक्नुभएन । नौनी घिउको जस्तो स्वाद भएको यो फल स्वास्थ्य र पोषणका लागि एकदमै राम्रो मानिन्छ ।

व्यापारी पोख्रेलले इलाममा एभोकाडो उत्पादन हुने ठाउँका किसानसँग जति माग गरे पनि नपाएको बताउनुभयो । बोटमा फूल लागेदेखि नै आएर बाहिरका व्यापारीहरुले बोटमा नै मोलमोलाइ गरेर खरिद गर्ने भएकाले पनि जिल्लामा यो फल खासै नपाइने गरेको रोङ गाउँपालिकाका गोविन्द पौडेलको भनाइ छ ।

इलाममा उत्पादन भएको फल, झापा, विराटनगर, काठमाडाँैमा क्षेत्रमा लैजाने गरेको उहाँले बताउनुभयो । झापाको कांकरभिट्टा र इलामको पशुपतिनगर हुँदै भारतको दार्जिलिङ, सिलिगुडीलगायत बजारमा समेत जाने गरेको छ तर जिल्लाबाहिरका बजारमा समेत मागअनुसार फल पु¥याउन नसकिएको किसानको भनाइ छ ।

“विदेश गएर आएकाहरुले बढी रुचाउने रहेछन्”, व्यापारी पोख्रेलले भन्नुभयो । वैदेशिक रोजगारीमा गएर आएकाहरु यो फलबारे जानकार हुने तर विदेशमा यसको दाम महँगो भएका कारण खासै नखाने गरेको दुवैमा रोजगारीमा रहनुभएका डिल्ली आचार्यले बताउनुभयो । उहाँका अनुसार विदेशका आफ्ना मालिकहरुले आफ्ना छोराछोरीलाई खोजीखोजी ख्वाउने स्मरण गर्दै भन्नुभयो, “यो त निकै राम्रो फल हो नि १ यस्तो फल नेपालमा नै पाइन थालेछ ।” स्वास्थ्यमा राम्रो गर्ने र दिमाग बढाउने भन्दै विदेशीहरुले सो फल आफू र आफ्ना सन्तानहरुलाई ख्वाउने उहाँले बताउनभयो । रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण यसलाई राम्रो फलका रुपमा लिइने गरिन्छ ।

यो फलको महत्व बढी भए पनि धेरैलाई यसको स्वाद मन पर्दैन । फलफूलको महत्व बुझ्ने, अनि एभोकाडो चिन्नेहरुले मात्र यो फल खरिद गर्ने गरेको व्यापारीहरुको भनाइ छ । नयाँ फल भएका कारण पनि यसको महत्व उपभोक्ताहरुलाई बुझाउन समस्या पर्ने गरेको व्यापारीहरुको भनाइ छ ।

केही समयअघि स्वादहीन भनेर खेर जाने एभोकाडोको अहिले इलाममा व्यावसायिक उत्पादन नै शुरु भएको छ तर पनि उपभोक्ताले मागअनुसार पाउन सकिरहेका छैनन् । नेपाली जनजिब्रोमा घिउफल भनेर चिनिने एभोकाडो इलाममा २०४५ सालमा जिल्लाको रोङ गाउँपालिकामा पहिला रोपिएको मानिन्छ । रोङगाउँपालिका सलकपुरका किसान रोमस अधिकारीले धनकुटाबाट यसको बीउ ल्याएर रोपेको बताइएको छ । सो बिरुवाले हाल धमाधम आम्दानी दिन थालेको उहाँले बताउनुभयो । रोङ गाउँपालिकाका धेरै किसानले हाल यसको व्यावसायिक खेती शुरु गरेका छन् । सो गाउँपालिकाको जिर्मलेबाहेक इलामका अन्य भूभागमा समेत यसको खेती विस्तार हुँदै गएको छ । पछिल्लो समय जिल्लाभित्र पनि यसको महत्व तथा स्वाद मन पराउने उपभोक्ताहरुको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ ।

जिल्लामा सबैभन्दा पहिला रोङ गाउँपालिकाबाट नै यसको खेती शुरु भएकाले पनि सो स्थानमा सबैभन्दा बढी खेती गर्ने किसानको सङ्ख्या बढी छ तर जिल्लाका अन्य स्थानमा पनि परीक्षणका रुपमा गरिँदै आएको खेतीबाट राम्रो आम्दानी हुन थालेको किसान बताउँछन् । जिल्लाको माईजोगमाईको सोयाङ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिकाको सुलुबुङमा समेत यसको व्यावसायिक खेती शुरु भएको छ ।

खेती र यसको महत्व बुझेर आउने किसानलाई समेत माग पु¥याउन नसकिएको सलकपुरका किसान याम अधिकारीले बताउनुभयो । अहिले सलकपुर आउने पर्यटकले यसको धेरै माग गर्ने गरेको भए पनि मागअनुसार उत्पादन नभएको उहाँले बताउनुभयो । शुरुमा धेरैलाई यसको महत्व थाहा नभएको र वास्ता नगर्ने भए पनि हाल बोटबाट नै मोलमोलाइ शुरु भएको उहाँको भनाइ छ ।

किसान ईश्वरी अधिकारीले गएको वर्ष एउटै बोटलाई ५० हजारमा बेच्नुभएको थियो तर यस वर्ष बोटमा रोग लागेका कारण त्यसको आधा रकम अर्थात् २५ हजारमा मात्र बिक्री गरेको बताउनुभयो । यसको रूख ठूलो हुने, पाखाबारीमा समेत लगाउन सकिने साथै सिमसार र खोल्सामा समेत रोप्न सकिने भएकाले पनि किसान यस खेतीप्रति आकर्षित भएका हुन् । यसको गाईभैँसीलाई घाँससमेत ख्वाउन सकिन्छ । वस्तुले समेत अत्यन्तै रुचाएर यसको घाँस खाने गरेका छन् । आवश्यकता परेको बेलामा काठ र दाउरा समेत प्रयोग गर्न सकिन्छ ।

ठूलो रूख हुने भएकाले यसको एउटै रूखमा तीन/चार सय किलोग्रामसम्म फल उत्पादन हुने गरेको छ । एभोकाडोको बिक्री मूल्यसमेत राम्रो छ । बोटबाट नै व्यापारीहरुले प्रतिकिलो २०० देखि २५० रुपैयाँमा खरिद गर्ने गरेका छन् ।

रोङ गाउँपालिकामा यसलाई सुहाउँदो हावापानी भएका कारण धेरैजसो उत्पादन सोही गाउँपालिकाबाट हुने गरेको छ । गाउँपालिकाले गएको बर्खामा २३० वटा बिरुवा खरिद गरी ल्याएर किसानलाई उपलब्ध गराएको थियो । प्रतिगोटा रु ८० पर्ने बिरुवाको नर्सरी भने जिल्लामा शुरु भएको छैन । भर्खरैदेखि उत्पादन शुरु भएका कारण पनि यसको जातबारे इलामका किसानलाई थाहा छैन तर यसको आकार र स्वाद भने फरकफरक हुने गरेको छ ।

रोङको सबै वडामा उत्पादन हुन सक्ने यो फलको बिरुवा स्थानीयस्तरमा पनि उत्पादन हुनथालेको छ । यस वर्ष पनि किसानलाई उपलब्ध गराउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताउनुभयो । किसानको बारीमा कति छ ? कति उत्पादन हुन्छ भनेर तथ्याङ्क लिने गृहकार्य भइरहेको अध्यक्ष राईले बताउनुभयो ।

नेपालमा एभोकाडो तथा नौनी घिउ भनेर चिनिने यो फलमध्ये अमेरिका र मेक्सिकोमा उत्पत्ति भएको उष्ण प्रदेशीय राम्रो नगदेबालीका रुपमा परिचित छ । यो समुद्र सतहबाट ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा गर्न सकिन्छ । मानव स्वास्थ्यका लागि आवश्यक चिल्लो र कार्बोहाइड्रेट यस फलबाट पाइने गरेको छ । बिरुवा रोपेको चार वर्षदेखि ५० वर्षसम्म आम्दामी दिने बताइएको छ । यसको एउटा फल दुईदेखि चार सय ग्रामसम्मको हुने गरेको छ । एभोकाडोमा मानव शरीरका लागि आवश्यक मानिने सबै प्रकारको भिटामिनहरु र मिनिरल पाइने विज्ञहरुको भनाइ छ । स्थानीय सरकारले यस खेती प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । यस फललाई प्रवद्र्धन गर्न सके विदेश पलायन हुने युवायुवतीलाई नेपालमा नै रोक्न सकिने थियो कि ?