• गृहपृष्ठ
  • उद्घाटन सहित पुस्तक प्रदर्शनीमा दामोदरका सय कार्टुन पुस्तक विमोचन

उद्घाटन सहित पुस्तक प्रदर्शनीमा दामोदरका सय कार्टुन पुस्तक विमोचन

Apr 5th, 2022

सत्य राम कासिछ्वा

भक्तपुर , चैत २२

आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन तीन दिने पुस्तक प्रदर्शन उद्घाटन तथा कार्टुनिष्ट दामोदर सुवालको कार्टुन संग्रह “दामोदरका सय कार्टुनू पुस्तक नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले धिमेबाजाको संगितसँगै विमोचन गर्नुभएको छ ।

उक्त कार्यक्रममा बिजुक्छेँले नेपालमा चलनचल्ती र बोलीचालीमा रहेका उखान टुक्का कार्टुनको स्रोत बन्न सक्ने र राजनैतिक अस्तव्यस्तको भण्डाफोर गर्दै व्यंग्यचित्र कार्टुनले जनताको चेतना स्तर बढाउने भन्दै पुस्तक प्रदर्शनीको शुभकामना दिनुभएको छ । आरम्भ नेपालले भक्तपुरको कमलविनायकस्थित लामगालमा सुरु गरेको पुस्तक प्रदर्शनीको उद्घाट्नपछि स्टलहरुको अवलोकन गर्दै उहाँले माओको अन्तिम लडाइँ,

आन्तोन चेखबका कथाहरू, सिलु म्ये र सामाजिक प्रतिरोध, चुयाँ (चिनियाँ साँस्कृतिक नाटक), सुवर्ण समशेर, स्टालिन, लेनिनको जीवनी, संस्कृत नेपाली शब्दकोष, वैज्ञानिक गोरेटोमा र मार्मिक सम्झनाहरू छनोट गरे ।

उहाँले पुस्तक प्रदर्शनीमा सहभागी विभिन्न पुस्तक बिक्रेताहरुसँग भलाकुसारी गर्दै पुस्तकहरु रोजेका हुन् ।

कार्यक्रमका अर्का अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले समाजका देखिएका विसंगति प्रति तिखो व्यंग्यवाण प्रहार गर्ने भएकोले कार्टुन पनि जनताको साहित्य हो भन्नुभएको छ ।

पुस्तकका रचयिता कार्टुनिष्ट दामोदर सुवालले कार्टुनले सामाजिक मर्यादाक्रम नाघ्न नहुने र नेताहरूको नकारात्मक चर्तीकला र व्यवहारले कार्टुनको जन्म हुने बताउनुभएको छ ।

प्रदर्शनीमा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले विकृति विसंगति माथि व्यंग गर्दै नेताहरूको व्यवहार शैलीमा परिपक्वता ल्याउन कार्टुन साहित्य महत्त्वपूर्ण हो भन्नुभएको छ ।

तीनदिनसम्म चालू रहने पुस्तक प्रदर्शनीमा पाठक तथा पुस्तक प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको छ । उक्त प्रदर्शनी चैत २३ गतेसम्म विविध कार्यक्रम सहित हुने आयोजकले जनाएको छ ।