• गृहपृष्ठ
  • आमाको उद्दारको लागि छोरीले गुहारिन महिला मन्त्रालय

आमाको उद्दारको लागि छोरीले गुहारिन महिला मन्त्रालय

Jul 12th, 2019

रसना ढकाल 
काठमाडौँ, २७ असार

चार महिना देखी कुवेतमा अलपत्र अवस्थामा परेकी आफनो आमाको सकुशल नेपाल झिकाइ पाउँ भन्दै एक छोरीले महिला मन्त्रालय गुहारेकी छिन् । घरेलु कामदारको रुपमा भारतको बाटो हुदै कुवेत पुगेकी नुवाकोटकी ३४ वर्षीय अनु तामाङ्गकी छोरी सलिना तामाङ्गले महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला सशक्तिकरण महाशाखामा सह सचिव रुद्रा देवी शर्मा समक्ष आमाको उद्दारको लागि माग गरेकी हुन् । 

सलिना तामाङ्गका अनुसार चैत्रको पहिलो हप्ता भारतको दिल्लीबाट रमेश खत्री नाम गरेको एजेण्ट मार्फत आमा अनु कुवेत पुगेको र पुगेपछि दुई महिनासम्म परिवारको सम्पर्कमा नआएको बताइन् । दुई महिनासम्म आमा सम्पर्कमा नआएपछि विचलित बनेकी छोरीलाई अचानक केही दिन अघि आमाले रुँदै भिडियो कल गरेको र जतिसक्दो चाडो नेपाल झिकाई दिउ भनेको छोरीले बताएकी छिन् ।

यता अनु तामाङ्गलाइ चिन्दै आउनु भएका सञ्चारकर्मी जि.बि.आग्रीलाइ पनि अनुले भिडियो कल गरेर नेपाल झिकाउन आग्रह गरेको आग्रीले बताउनु भएको छ । आग्रीका अनुसार भारतका एजेण्ट रमेश खत्रीले उल्टै परिवारसँग पैसा मागेको र कुवेत स्थित रीता राइ नाम बताउने महिला एजेण्टले अफिस खोलेकी र उनले पनि अनुलाइ नेपाल झिकाउ परिवार समक्ष लाखौँ रुपैयाँको माग गरेको बताउनुभयो । 

अनुलाई सकुशल नेपाल झिकाउनको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सहसचिव रुद्रा देवी शर्माले पराष्ट्र मन्त्रालय अन्तर्गतको काउन्सर विभागमा सम्पर्क गरेको र काउन्सर विभागले कुवेत स्थित राजदुतावासमा जानकारी दिइ सकेको बताउनुभयो । साथै अनुलाइ सकुशल झिकाउन मन्त्रालयबाट पूर्ण सहयोग गर्ने सह सचिव शर्माले बताउनुभयाे । 

सलिनाका अनुसार आमाको उद्दारको लागि परराष्ट्र मन्त्रालय र नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोमा असार १५ गते निवेदन दिएकि थिइन् । अहिलेसम्म केहि जानकारी नआएपछि उनी विहीवार केआइ नेपाल , विश्वास नेपाल, महिलाको निम्ति महिला मञ्च नेपाल र सञ्चार माध्यमको सहयोगमा महिला मन्त्रालय पुगेकी हुन् ।