• गृहपृष्ठ
  • बलात्कारको आरोपमा डाक्टर पक्राउ परेकोप्रति चिकित्सक संघको ध्यानाकर्षण, आरोपि विरुद्ध अनुसंधान जारी

बलात्कारको आरोपमा डाक्टर पक्राउ परेकोप्रति चिकित्सक संघको ध्यानाकर्षण, आरोपि विरुद्ध अनुसंधान जारी

Nov 29th, 2019

काठमाडौं, १३ मंसिर
नेपाल चिकित्सक संघले बलात्कारको आरोपमा एक चिकित्सक पक्राउ परेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक विज्ञप्ती जारी गर्दै ललितपुरस्थित मेडिसिटी अस्पतालका डा.रोहितकुमार झा पक्राउ परेको विरोध गरेको हो ।

चिकित्सक संयोजक रहेको पाँच सदस्यीय समितिले दोषी ठहर गरे मात्रै मुद्दा चलाउनुपर्ने संघको ठहर छ । विज्ञप्ती मार्फत नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा गठित पाँच सदस्यीय अनुसन्धान समितिले कसुर गरेको प्रमाण भेटिएको खण्डमा मात्रै मुद्दा चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयमा लेखी पठाउने व्यवस्था परिमार्जन भएको जानकारी गराइएको छ ।

डा. झा ‘होल बडी’ परीक्षण गर्न आएकी विरामीलाई बलात्कारको प्रयास गरेको आरोपमा ९ मंसिरमा अस्पतालबाटै पक्राउ परेका थिए । उनीविरुद्ध पीडित महिलाले जबरजस्ती करणी उद्योगमा किटानी जाहेरी दिएकी छन् । संघले बिरामी परीक्षण गरिरहेको अवस्थामा बिना अनुसन्धान चिकित्सकलाई पक्राउ गर्न नहुनेमा जोड दिएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा काम गर्ने डाक्टर रोहितकुमार झा बलात्कार प्रयासको आरोपमा ३ दिन अघि पक्राउ परेका थिए । उनीमाथि अस्पतालमा उपचार गर्न आएकी एक युवतीमाथि बलात्कार गर्ने प्रयास गरेको आरोप लागेको थियो । पक्राउ परेका डाक्टर रोहितकुमार झाले नियमित उपचारका लागि अस्पताल पुगेकी एक युवतीमाथि बलात्कार प्रयास गरेको बताइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार युवतीले ललितपुरको महानगरीय परिसरमा उजुरी दिएपछि डाक्टर झा पक्राउ परेका थिए । अहिले उनी हिरासतमा छन् । उनको विषयमा पाँच दिनको म्याद थप गरी अनुसंधान भैरहेको ललितपुरका एसएसपी टेक राईले बताए ।