• गृहपृष्ठ
  • सिमेन्टको भाउ घटेपछि बैंकहरु उद्योगमा लगानी कडाई गर्दै, सिमेन्ट क्षेत्रमा मात्रै ९५ अर्ब ८८ करोड लगानी

सिमेन्टको भाउ घटेपछि बैंकहरु उद्योगमा लगानी कडाई गर्दै, सिमेन्ट क्षेत्रमा मात्रै ९५ अर्ब ८८ करोड लगानी

Nov 26th, 2019

काठमाडौं, १० मंसिर
सिमेन्टको भाउ घटेपछि अहिले बैंकहरुले पनि यो क्षेत्रमा लगानी गर्न आनाकानी गर्न लागेका छन् । दुई वर्ष अघिको तुलनामा अहिले प्रतिबोरा २ सय रुपैयाँले सिमेन्टको भाउ घटेको छ । गत वर्षसम्म बैंकहरुको कर्जा सिमेन्ट उद्योगमा केन्द्रित थियो । तर यो वर्ष भने लगानी जोखिममा पर्न सक्ने भन्दै बैंकहरुले लगानीमा नै कडाई गर्न लागेका छन् ।

नेपाल राष्ट्र बैकका अनुसार बैंकहरुले यो क्षेत्रमा ९५ अर्ब ८८ करोड लगानी गरेका छन् । गत वर्षको असोजसम्ममा १६ प्रतिशतले सिमेन्ट क्षेत्रमा कर्जा विस्तार गरेको बैंकहरुले यो वर्ष ७ प्रतिशतमै सिमित गरेका छन् । आजभन्दा ३ वर्ष अघि भने देशमा रहेका ४२ वटा उद्योगले १० मिलियन टनको हाराहारीमा सिमेन्ट उत्पादन गर्थे । भूकम्पसँगै सिमेन्टको माग बढेपछि भारतबाट सिमेन्ट आयात ह्वात्तै बढ्यो । जसपछि सिमेन्टमा स्वदेशी मात्रै होइन बैदेशिक लगानी पनि ओहिरियो ।

अहिले भने देश सिमेन्टमा आत्मनिर्भर भएको छ । देशमा ६१ वटा सिमेन्ट उद्योगहरुबाट अहिले वार्षिक १५ मिलियन टन सिमेन्ट उत्पादन गर्न सकिन्छ । तर सरकारले विकास निर्माणका काम समयमै अघि बढाउन नसक्दा अहिले बजारमा माग भन्दा बढि सिमेन्टको उत्पादन भएको छ । बिक्री कम भएपछि उद्योगहरुले अहिले क्षमताको जम्मा ६६ प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । सिमेन्ट उद्योगीहरुबिच प्रतिस्पर्धा बढेकाले ग्राहकले भने सस्तोमा सिमेन्ट उपभोग गर्न पाएका छन् । तर उद्योगीहरु भने यो मूूल्यमा सिमेन्ट बेचेर उद्योग सञ्चालन गर्न कठिन हुन लागेको बताउँछन् ।

नयाँ सिमेन्ट उद्योगहरु थपिने क्रम पनि रोकिएको छैन । साथै यसअघि स्थापना भएका उद्योगहरुले पनि भटाभट आफ्नो क्षमता विस्तार गरिरहेका छन् । आगामी दुई वर्षपछि बजारमा माग भन्दा दोब्बर सिमेन्ट र क्लिन्कीरको उत्पादन हुने व्यवसायीहरु बताउँन् । दुई वर्षपछि अढाई करोड टन सिमेन्टको उत्पादन हुनेछ तर सरकारले यही हिसाबले बिकास निर्माण अघि बढाउने हो भने माग साढे १२ सय मिलियन टन भन्दा बढि नहुने देखिन्छ ।

पछिल्ला वर्षमा बैकहरुले उच्च प्राथमिकताका साथ सिमेन्ट उद्योगमा लगानी बढाएका थिए । किनकी यो क्षेत्रका उद्योगले उच्च नाफा कमाएका थिए । तर पुननिर्माणको लभगग धेरैजसो काम सकिएको र विकासका काम अघि बढ्न नसकेकाले पछिल्लो समय सिमेन्टको माग स्थिर छ । माग बढ्न सकेको छैन, तर उत्पादन भने ह्वात्तै बढेको छ । उत्पादन बढि हुने र बिक्री नहुने भएपछि अहिले मूल्यमा प्रतिस्पर्धा छ । जसले गर्दा यो क्षेत्रका उद्योगको नाफामा पनि कमि आएको हो ।