• गृहपृष्ठ
  • कहिले यता त कहिले उता टाँसिएर होइन जनताबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं

कहिले यता त कहिले उता टाँसिएर होइन जनताबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं

Jul 6th, 2024

काठमाडौं, असार २२

देश विकास र राजनीतिक परिवर्तनमा नेताको भूमिका निकै महत्त्वपूर्ण रहन्छ । अहिले नेपालका राजनीतिक दलका नेताहरु आफुहरुले मुलुकमा राजनीतिक परिवर्तन ल्याउन यति र उति वर्ष जेल जीवन बिताएको दाबी गर्छन् । नेकपा एमालेकै अध्यक्ष केपीशर्मा ओलीले आफुले देशको राजनीतिक संघर्षका लागि १४ वर्ष जेल बसेको ठोकुवा गर्ने गरेका छन् । तर, उनी राजनीतिक परिवर्तनका लागि नभई मान्छे मारेर जेल बसेको कुरा पानीजस्तो छर्लंग छ । विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई समेत ओली राजनीतिक परिवर्तनका लागि नभई मान्छे मारेर नै जेल बसेको बताउँछन् । उनले सार्वजनिक रुपमै भन्ने गरेका छन्, मेरो हजुरबुबा मारेर ओली १४ वर्ष जेल बसेका हुन् ।

यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले पञ्चायती व्यवस्थाविरुद्ध बोल्दा प्रहरीले समातेर जेल हालेको र जिब्रोमा करेन्ट लगाइदिएको बताउने गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने मुलुकको राजनीतिक परिवर्तनका लागि ज्यानै जोखिममा राखेर दश वर्ष जनयुद्ध गरेको बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बुढा नेताले केही नगरेकोले आफु देश बनाउन अमेरिका छोडेर आएको दाबी गर्ने गर्छन् । उनलाई टेलिभिजनमा उफ्रिउफ्रि कराएकै भरमा जनताले चुनाव जिताए । र, गृहमन्त्री पनि बने । तर, ओलीको निर्देशन मान्दा लामिछानेले देश र जनताको लागि एउटै पनि राम्रो काम गर्न सकेनन् । माथिल्लो सदन (प्रतिनिधिसभा) मा दुई सय ७५ जना सांसद छन् । त्यस्तै, तल्लो सदन (राष्ट्रियसभा) तथा प्रदेशसभाहरुमा पनि त्यत्तिकै सांसद छन् । अहिले जनता नै भन्छन्, ‘यीनीहरुले देश बनाउँदैनन् ।’ बुढा होस् या ठिटो कोहीले पनि देश बनाउन नसक्ने जनता बताउँछन् । अहिले पनि कतिपय भन्छन् कि बाबुराम भट्टराई राम्रो नेता हुन् ।
उनी देश र जनताको लागि चाहिने असल नेता हुन् । अहिले जनताबाट निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था भएको भए कि बाबुराम भट्टराई प्रधानमन्त्री हुन्थे कि त काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । यता, पटक–पटक प्रधानमन्त्री बनेर पनि सिन्को नभाँचेकाहरु अहिले पनि प्रधानमन्त्री खान पल्किरहेका छन् ।
ओली यसअघि नै दुई पटक प्रधानमन्त्री भइसकेका छन् । त्यस्तै, देउवा पाँच चोटी र प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसके । तर, यीनीहरु अहिले पनि प्रधानमन्त्री खान पाइन्छ भनेर सर्पले दुलोभित्र लुकेर भ्यागुता कुरेझै बसिरहेका छन् । बाबुराम भट्टराईले २०७४ सालमा सांसद हुँदा सदनमै उभिएर मन्त्री, प्रधानमन्त्री, कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका थिए ।

उनले भनेका थिए, ‘हिजो एक जोर कपडा र चप्पल लगाउन नसक्नेहरुको आज यत्रो सम्पत्ति कसरी आयो । यो सबै छानबिन गरौं ।’ तर, त्यसमा कोही पनि राजनीतिक दलका नेता तथा सांसद सहमत भएनन् । अहिले भट्टराई सांसद छैनन् । किनकि उनले गत निर्वाचनमा उम्मेदवारी दिएनन् ।
यता, राजनीतिक दलहरुले ५० औं वर्षसम्म गर्न नसकेका काम काठमाडौंका मेयर बालेनले पछिल्लो २० महिनामै गरेर देखाएका छन् । अहिले आम सर्वसाधारणलाई देशको प्रधानमन्त्री को भएको देख्न चाहनुहुन्छ भनेर सोध्दा पहिलो नाम बालेनकै आउँछ । दोस्रोमा बाबुराम आउँछन् । ओली, देउवा, प्रचण्डहरुको त सर्वसाधारण नाम नै लिँदैनन् ।
अहिले सदनमा जनताबाट चुनिएर आएका युवा नेता तथा सांसद पनि छन् । यद्यपि, यीनीहरु ओली, देउवा र प्रचण्ड अगाडि देखेपछि केही बोल्न र गर्न सक्दैनन् । राजनीतिक दलका कुनै पनि नेताले देशका लागि केही गर्दैनन् भनेर जनताले बुझिसकेका छन् । तर, जनतासँग यो सहनु वा देश बर्बाद भएको हेर्नुबाहेक कुनै विकल्प पनि छैन ।
सरकारले दुई दर्जनभन्दा बढी सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेका छ । ती सहकारी पनि कोही एमाले त कोही कांग्रेस, कोही माओवादी त कोही राप्रपाका नेता तथा कार्यकर्ताले सञ्चालन गरेको पाइएको छ । पहिला आफ्नो कार्यकर्तालाई सहकारी खोल्न लगाउने, जनताको पैसा ल्याएर मोजमस्ती गर्ने अनि सहकारी सञ्चालक पक्राउ परेपछि वा फरार भएपछि हाम्रो पार्टीको सदस्य होइन वा कारबाही गरिसक्यौं भनेर प्रेस विज्ञप्ति निकाल्ने ।

यसरी ठग सिकाउने वा जनताको पैसामा मोजमस्ती गर्ने नाइकेहरु चाँहि जोगिने । राजनीतिक दलहरु दलाली हुन् भनेर जनताले बुझ्रदै गएका छन् । नेता कहिले पनि सोख खोज्दैन । कहिले लोभलालचमा फस्दैन र आफ्नो स्वार्थका लागि केही गर्दैन । नेता त्यस्तो व्यक्ति हो, जसले देश र जनताका लागि आफ्नो घरपरिवार त्यागेको हुन्छ । ठुला महल त्यागेर जनताको सानो झुपडीमा रमाउँछ । कृष्णप्रसाद भट्टराई, सुशिल कोइराला मरेर गएपनि जनता अहिले पनि उनीहरुलाई राम्रो नेता भनेर सम्झन्छन् । स्वर्गीय मनमोहन अधिकारीले ‘आफ्नो गाउँ, आफैं बनाऊँ’ र ज्येष्ठ नागरिकलाई भत्ता दिने व्यवस्था ल्याएका थिए । उनलाई जनताले निकै राम्रो नेता मान्दै आएका थिए । तर, झापाको बित्तामोडस्थित गिरिबन्धु टि स्टेटको जग्गा व्यक्तिको नाममा लग्ने निर्णय गरिएकोमा केपी ओली, सूर्यबहादुर थापासहित मनमोहनको समेत नाम आएपछि जनताको उनलाई हर्ने दृष्टिकोण परिवर्तन भएको छ । यी तीनै जनताले प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाटै उक्त जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गरेको आरोप छ ।
यता, टिकापुरको सरकारी जग्गा नेपाली कांग्रेसकी नेतृ वा पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा पत्नी आरजु राणाले आफ्नो नाममा लागेको आरोप छ । तर, आरजु आफुले उक्त जग्गा किनेको दाबी गर्दै आइरहेकी छन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको ललिता निवास वा थानकोटस्थित मातातीर्थको सरकारी जग्गा व्यक्तिको नाममा लैजानी निर्णय गरिएको थियो ।
यति मात्र नभई उनै प्रधानमन्त्री हुँदा काभ्रे र कालोपुलस्थितको सरकारी जग्गा पनि व्यकितको नाममा पास गरिदिइएको थियो । बालुवाटारको आठ आना सरकारी जग्गा एमाले नेता विष्णु पौडेलले आफ्नो छोराको नाममा पास गरेका छन् । ललितपुरको हरिसिद्धि र बौद्धस्थित हायत होटल रहेको सरकारी जग्गा पनि व्यक्तिकै नाममा लगिएको छ । यी त उदाहरण मात्रै हुन्, त्यो पनि ठुला नेताले गरेका ।
राजनीतिक दलका कार्यकर्ता, सरकारी कर्मचारी र भूमाफियाको मिलेमतोमा त देशभरका सरकारी, सार्वजनिक, गुठी, मठमन्दिरका जग्गा व्यक्तिको नाममा लगिएको छ । अहिले सदनमा रहेका एउटै सांसद पनि चोखो छैनन् । कोहीमाथि भ्रष्टाचारको आरोप लागेको छ कोहीमाथि सहकारीको रकम हिनामिनाको । त्यस्तै, कोही सेयर दलाली छन् त कोही घरजग्गा दलाली ।

आरजु देउवामाथि अहिले पनि नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोप छ । कतिपय सर्वसाधारण भन्छन्, ‘पूर्वप्रधानमन्त्रीकै श्रीमती त यस्तो धन्दामा छिन् भने अरुले त के गर्लान् ।’ केही दिनअघि मुख्यसचिव वैकुण्ठ अर्यालमाथि भ्रष्टाचारको मुद्दा दायर भयो । उनी निलम्बनमा परेका छन् । मुख्यसचिव नै भ्रष्टाचारमा तानिएपछि अहिले सर्वसाधारण सरकारी कर्मचारी देख्नेबित्तिकै भ्रष्टाचारी आयो भन्छन् । नेता र कर्मचारीले मिलेर देश खोक्रो बनाए । तर, अहिले पनि नेताहरु राष्ट्र, राष्ट्रियताको कुरा गर्न छोड्दैनन् । न त देश र जनताको गीत गाउन छोड्छन् न त यीनीहरुको गोहीको आँसु नै रोकिन्छ । जनता कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् । खाना नपाएर आम सर्वसाधारण आमहत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

बजार पूरै मन्दीमा छ । घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी आएको वर्षौ भइसक्यो । काठमाडौं उपत्यकासहित देशभर कोठा, सटर र फ्रल्याट खाली भएका छन् । युवाहरु दिनहुँ विदेशिरहेका छन् । गाउँघरमा बुढाबुढीबाहेक कोही छैनन् । अहिले त आमाबुबा मर्दा समेत छोराछोरी साथमा हुँदैनन् । किनकि देशमा रोजगारी नभएर उनीहरु विदेशिएका छन् । यता, सरकारी कर्मचारीहरु आफुहरुलाई तलब, सुविधा नपुगेको भन्दै आन्दोलन गर्छन् । निर्माणm व्यवसायी, दुग्ध किसान र कोरोना महामारीका बेला बीमा गराएका अस्पतालहरु विदेशीसँग ऋण लिएर भएपनि आफुहरुको भुक्तानी दिन सरकारसग माग गर्छन् । विदेशी ऋण २७ खर्ब पुगिसक्यो । एकै नेपालीको टाउकोमा लाखौं रुपैयाँ विदेशी ऋण छ । सरकारी कर्मचारी र नेताले देश बनाए कि बेचे ? अब त यो कुरा जनताले बुझ्ने बेला भएन र । हामी जनता पनि कार्यकर्ता मात्रै भएर बस्ने कि आफ्नो मातृभूमि बचाउन सडकमा उत्रिने ।
रुषा थापा
भक्तपुर