• गृहपृष्ठ
  • प्राइड मन्थमा देखासिर्की, नेपालको मौलिक पहिचान ओझेलमा

प्राइड मन्थमा देखासिर्की, नेपालको मौलिक पहिचान ओझेलमा

Jun 28th, 2024

काठमाडौं, असार १४

सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्‍यो। समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो।

प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो। त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे। उक्त घटनापछि त्यहाँ साताभरि प्रदर्शन भए र त्यो समाचार सबैतिर फैलियो। त्यसपछि अधिकारवादी समूहहरू पनि प्रदर्शनमा मिसिन पुगे र त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरूले समानताको माग गर्दै खुला रूपमा पहिलो जुलुस निकाले।

त्यसपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकारका लागि अभियानहरू सुरु भए र जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउन थालियो। अमेरिका, युरोपले मनाएपछि उनीहरूकै सिको गरेर अहिले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउने चलन अरू विभिन्न देशमा पुगेको छ।

पछिल्ला केही वर्षदेखि नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पनि अङ्ग्रेजी ‘जुन’ महिनालाई सप्तरङ्गी महिनाको रूपमा मनाउँदै आएका छन्। यो समुदायले नेपालमा प्राइड मन्थका रूपमा मनाउन थालेको भने धेरै भएको छैन।

जुन महिनाभरि युरोप र अमेरिकामा असाध्यै राम्रो मौसम हुनुका साथै घाम लाग्ने, लामो दिन फूलैफूल फूलेका हुन्छन्। त्यसैले उनीहरूले विभिन्न झाँकी देखाउने, कार्यक्रमहरू गर्छन्।

नेपालको मौसम भने ठिक विपरीत छ। अस्ट्रेलियामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पर्व भनेर फेब्रुअरी महिनामा मनाउँछन्। साउथ अफ्रिका, ब्राजिल, न्युजिल्याण्डमा उनीहरूको देशको मौसम अनुसार मनाउँछन्। भारतको दिल्लीमा प्राइड मन्थ भनेर नोभेम्बरमा मनाउँछन्।

तर नेपालमा भने आफ्नो देशको सङ्घर्ष केही नभए जस्तो अरू देशको देखासिकी गरेर टन्टलापुर घाममा प्राइड मन्थ मनाउने गरिएको छ। डिसेम्बर २१ ९पुस ६ गते० सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको मुद्दामा सर्वोच्च अदालतले पहिलोचोटी प्राकृतिक रूपमै महिला र पुरुष भन्दा अलग पहिचान छ भनेर आदेश दिएको दिन छ। सन् २००१ अगाडी नै दरवारमार्गको सडकमा निस्कँदा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जस्ता कहालीलाग्दो घटना नेपालमा धेरै छन्।

यसले के देखाउँछ भने जुन महिनामा जतिले कार्यक्रमहरू गरिरहेका छन्, उनीहरूले बुझेर भन्दा पनि देखासिकी गरेका छन्। यहीकै मौलिकता र मौसमलाई मिलाएर वा यही समुदायका मुद्दालाई लिएर गर्न सकिने तर्फ अहिलेसम्म कसैले ध्यान दिएको पाइँदैन।

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संस्थागत रूपमा आएको नै दुई दशकभन्दा लामो समय भइसकेको छ। तर, यो अवधिमा नेपालमा पनि आफ्नै मौलिकतालाई झल्काउने एउटा महिना तय गरेर मनाउने पहल समेत भएको छैन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिलो संस्था नील हिरा समाजले त सर्वोच्च अदालतले दिएको ऐतिहासिक आदेशलाई नै भुल्दै आएको छ। सुनिलबाबुको बहिर्गमन पछि नील हिरा समाजको नेतृत्व सस्तो प्रचारबाजीमा मात्रै रुमल्लिँदा बिचल्लीमा परेको समुदायका सदस्यले गुनासो गर्दै आएका छन्।

कुनै नयाँ कार्यक्रम सञ्चालन गर्न नसक्ने, अरूले ल्याएको क्रियटिभ काममा समेत भाँजो हाल्ने अभियानमा भने नील हिरा समाजको नेतृत्व अग्रणी रहेको समुदायका सदस्य बताउँछन्। पारदर्शिताको साटो अपारदर्शिता, स्वार्थका लागि गठित समूहको एक अर्कालाई संरक्षण गर्ने र सकेसम्म भाँडभैलो मच्चाइदिने धन्दामा नेतृत्व लाग्दा निराश बन्नु परेको गुनासो समुदायका सदस्यहरूले गर्दै आएका छन्।

नेपालको प्राइड मन्थ अक्टोबर

नेपालमा पहिलो पटक इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपालले यो वर्षदेखि अक्टोबर महिनालाई प्राइड मन्थको रूपमा मनाउने घोषणा गरेको छ। वार्षिक क्यालेन्डर नै सार्वजनिक गरेको मायाको पहिचान नेपालले दसैँको कोजाग्रत पूर्णिमादेखि दीपावलीसम्म गर्वको पर्व मनाउन लागेको जानकारी दिएको छ।

नेपालमा कानुनी रूपमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान स्थापित भइसकेको छ। असार १५ गते मायाको पहिचान नेपालसहितका संस्थाले इन्द्रेणी रोपाई जात्रा मनाउँदै छन्।

अहिले यहाँ वर्गीय समस्या देखिएको छ। यहीकै धनीमानी अङ्ग्रेजी बोल्छन्। ट्रान्स म्यान, ट्रान्स वीमेन, क्वीयर भन्ने शब्द ग्रामीण भेगका वर्गले जान्दैनन्। अझ संवैधानिक रूपमा पाएको अन्य लैङ्गिक पहिचानलाई भन्दा पश्चिमा देशको जस्तो पुरुष जन्मेकालाई महिलाको र महिला जन्मेकालाई पुरुषको नागरिकता माग्ने अभियान आइडिया विहीन स्वार्थ समूहले नेतृत्व गरेका संस्थाको छ। नर्वेजियन दूतावासको फन्डमा कक्षा ७ को पाठ्यक्रममा नै पश्चिमा भाषा राख्न स्वार्थ समूह सफल भएको छ, जसको चौतर्फी विरोध भइरहेको छ।

यसले गर्दा लिङ्ग नै परिवर्तन गर्नुपर्‍यो र हर्मोन चाहियो भन्ने केसहरू आएका छन्। यसबारे नपढाउँदा बरु मान्छेहरू लुकेर बसेका थिए होलान् तर यसरी ११र१२ वर्षको बच्चाले तुरुन्तै चेन्ज नै हुनुपर्‍यो भन्ने समस्या थिएन।

महिला र पुरुषभन्दा फरक भनेको पारलैङ्गिक भनेर जबरजस्ती स्थापित गराउने प्रयास भएकोमा समलिङ्गी तेस्रो लिङ्गीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। गुगल गरेपछि महिला र पुरुष बन्ने कसरी खोजी गर्ने, मेरो शरीर नै गलत रहेछ भन्ने भाष्य दिने, गलत शरीर रहेछ भन्ने बित्तिकै मानसिक तनाव समेत आउने गरेको छ।

समुदायभित्र फरक भएर बस्ने भन्ने र होइन जेन्डर परिवर्तन गरेर भए पनि महिला र पुरुष भएर बस्छु भन्नेहरुबीच पनि डिबेट नै छ। अङ्ग्रेजी नबुझ्ने लोकल वर्गहरूसँग उनीहरू मिल्नै सक्दैनन्। यौन अङ्ग परिवर्तन गर्दैमा महिला र पुरुष बन्छ भन्ने पनि आफैँमा चुनौती छ।

अहिले एसियाली विकास बैङ्कले नेपाल सरकार खासगरी महिला मन्त्रालयसँग मिलेर आगामी तीन वर्षका लागि ४० करोड रुपैयाँ बजेट लिएर आउने कुरा छ। त्यसमा केही सीपमूलक तालिम छ भने धेरै बिना धितो ब्याज नलाग्ने खालको अथवा सिड मनी दिएर व्यवसाय गर्ने कार्यक्रमको माग भएको छ।

तर, आइडिया विहीनहरूले नेतृत्व गरेका संस्थाहरू भने हर्मोन क्लिनिक खोल्न पाउनुपर्छ भनेर लबिङ गरिरहेका छन्। जसको सार्वभौम संसद्मा समेत विरोध भएको छ।