• गृहपृष्ठ
  • फेरिएन् मजदुरहरुको जीवनस्तर, तिनका नाम बेचेर सत्तामा पुग्नेहरु शोषकीकै अगाडि लम्पसार !

फेरिएन् मजदुरहरुको जीवनस्तर, तिनका नाम बेचेर सत्तामा पुग्नेहरु शोषकीकै अगाडि लम्पसार !

May 1st, 2024

काठमाडौं, बैशाख १९

आज मजदुर दिवस । अर्थात मजदुरहरुको दिन । हरेक वर्ष मजदुर दिवस मनाउने गरिन्छ । मजदुरको नाममा दिवस मनाएपनि उनीहरुको जीवनस्तरमा खासै परिवर्तन हुन सकेको छैन् । हरेक क्षेत्रमा श्रम शोषण छ । थोरै तलबमा श्रमिकको रगतपसिना चुस्ने क्रम जारी नै छ । अहिलेपनि मासिक तीनदेखि १० हजारमा काम लगाइन्छ ।
घरायसी काम गर्नेहरुले महिनाभर काम गर्दा बल्लतल्ल तीन हजार पाउँछन् । यता, होटल, निजी संघसंस्था, पसलहरुमा पनि व्यापक श्रम शोषण भइरहेको छ । निजी क्षेत्रमा काम गर्नेहरु बिहान ९ देखि बेलुकी ७ बजेसम्म खटिन्छन् । त्योपनि त्यति जाबो तलबका लागि । न उनीहरुलाई सार्वजनिक बिदाको दिन छुट्टी हुन्छ न चाडबाडमा । सँधै काम मात्रै । उनीहरुलाई चाडपर्व पेश्की र उपचार खर्चबाट समेत वञ्चित गराइएको अवस्था छ । पछिल्लो समय तलब नदिएको गुनासो व्यापक आएको छ । एकातिर थोरै तलबमा महिनाभर खटिनुपरेको छ भने अर्कोतिर त्यही तलब पनि दिएका छैनन् । घरायसीदेखि निजी संघसंस्थामा काम गर्नेले वर्षौंदेखि तलब पाएका छैनन् । सरकारले श्रमिकको मासिक तलब १७ हजार ३०० निर्धारण गरेको छ ।

काम लगाउनेले दशैं पेश्की र उपचार खर्च दिनुपर्ने भनिएको छ । सार्वजनिक बिदाका दिन उनीहरुले पनि छुट्टी पाउने सरकारले नै भनेको छ । तलब पनि बैंकमार्फत दिनुपर्ने प्रावधान छ । तर, खोइ त कार्यान्वयन ? सरकारको ऐनकानुन कागजमै सीमित हुँदा श्रमिकहरु मर्कामा परेका छन् । निजी क्षेत्रमा जागिरे कामदारहरुलाई कुनै सेवासुविधा हुँदैन् । उनीहरु हिँडेर वा सार्वजनिक गाडी चढेर जान्छन् । पैसा भए दिँउसो खाजा खान्छन्, नत्र भोकै बस्छन् । यता, सरकारी कर्मचारीलाई मोज छ । जनताले तिरेको करबाट महिना मर्न नपाइकन तलब दिइन्छ । मिटिङ्ग भत्ता, गाडी, पोशाक, खाजाको व्यवस्थापन पनि सरकारले नै गर्छ । सरकारले बहालवाला होस् या पेन्सनवाला, महिना मर्नुअगावै बैंकको खातामा तलब हालिदिन्छ । सरकारले दिएको अनेकौं सुविधाको बाबजुद पनि सरकारी कर्मचारी सन्तुष्ट छैनन् । उनीहरु घुस खान्छन् । यत्रो सेवासुविधा दिँदा पनि उनीहरु देश र जनताका लागि काम गर्दैनन् ।

सरकारी कर्मचारी महिनौं दिन कार्यालय गएनन् भनेपनि तलब काट्दैन् । तर, निजी संघसंस्थामा कार्यरतहरु एक दिन मात्रै अफिस गएनन् भने तलब काटिहाल्छ । तलब काट्नलाई कुनै बहाना नै चाँहिदैन् । एकछिन ढिलो हुनुपर्छ, तलब काटिहाल्छन् । अहिले जतिपनि नेता छन्, तिनले हिजो मजदुरको आवाज उठाएझैं गरे । आफ्नो हकअधिकार खोज्नुपर्छ भनेर राजनीतिक दलका नेताहरुले उनीहरुलाई सडकमा उतारे । गरिबहरुको नाम बेचियो, तिनलाई शहिद बनाइयो । सत्तामा पुग्नका लागि गरिबहरुको प्रयोग गरियो । आफ्नो स्वार्थ पूरा भएपछि राजनीतिक दलहरु ती गरिबलाई फर्केर पनि हेर्दैनन् ।

सामान्य भाषामा भन्ने हो भने गरिबहरुलाई ‘युज एण्ड थ्रो’ गरियो । गरिब व्यक्ति हिजो जहाँ थियो, आज पनि त्यही छ । माथि पुगेका त तिनका नाम बेच्ने मात्रै हुन् । श्रम गरेर खाने कोही सत्तामा पुगेका छन् ? सबै गरिबको नाम बेच्ने मात्रै पुगेका छन् । श्रमिकहरु माथि हिजो पनि श्रम शोषण हुन्थ्यो, आज पनि छ । दिनरात नभनिकन खटिदाँसमेत उनीहरुको जीवनस्तरमा परिवर्तन आएको देखिँदैन्, किन ? किन कि उनीहरु सामान्तीको चक्रब्यूहमा फसेका छन् । सामान्तीहरु गरिबको शोषण गरेर मोटाउँदै गए । गरिबका छोराछोरी खान, लाउन, पढ्न पाउने मौलिक हकबाटै वञ्चित छन् । आज जतिपनि सत्तामा पुगेका छन्, तिनले गरिब, अशिक्षित र मजदुर वर्गलाई भर्याङ मात्र बनाए ।
भर्याङ चढेर जाने कहाँ पुगे, मजदुर जहाँको त्यही छन् । अरुलाई प्रयोग गरेर नेताहरुले आफ्ना सन्तानलाई पढाए । सात पुस्ता पुग्न सम्पत्ति जोडे । तर, मजदुरले के पाए ? विडम्बनापूर्ण कुरा के भने, अहिले तिनको आवाज उठाइदिने कोही पनि छैन् । सर्वसाधारणले नेताहरुलाई चिनेनन्, जसका कारण आज समग्र देशबासीले दुःख पाएका छन् ।
नेताहरु दिँउसो मजदुरको नारा लगाएझैं गर्थें, राति उद्योग व्यवसायीसँग गएर मिल्थे । उनीहरुले जे जे भन्यो, नेताहरुले त्यही त्यही गर्थे । यसको थुप्रै उदाहरण छन् । मजदुरहरु यति अपहेलनामा परेका छन् कि बयान गरिसाध्य छैन् । बल छउञ्जेल साहुले काम लगाउँछ । त्यसपछि निकालिदिन्छन् ।

कामबाट निकालिदाँ उनीहरुले एक रुपैयाँ पनि पाउँदैनन् । न उनीहरुको पेन्सन नै आउँछ । बाल श्रम लगाउन पाइँदैन् । यो कानुनविपरीत हो । तर, बाध्यताले उमेर नभन्दो रहेछ । होटलहरुमा हेर्नुपर्छ, ससाना बालबालिका काममा खटिएका छन् । बसमा सहचालकको रुपमा धेरै बालबालिका छन् । घरायसी कामकाज, ईट्टभट्टामा बालबालिकालाई राखिएको छ । झण्डै ८० वर्ष पुगेका बुढाबुढी पनि काम गरेर खान बाध्य छन् । वृद्धहरु हातमा नाम्लो बोकेर भारी बोक्न हिँडिरहेको प्रशस्तै देखिन्छ । देशमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय छ । मन्त्री भगवती चौधरी झण्डावाल गाडी चढेर हिँड्छिन् । तर, उनलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था के छ ? भन्ने थाहा छैन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कसरी विद्यालय ल्याउने ? कुनै योजना छैन् । पढ्न पाउनु बालबालिकाको अधिकार हो र यसको संरक्षण गर्नु सरोकारवाला निकायको दायित्व ।

सबै बालबालिकाले विद्यालय जान पाउनुपर्छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । विभिन्न क्षेत्रमा काम गरिरहेका, सडकमा मागिरहेका बालबालिकालाई विद्यालय जाने वातावरण बनाऔं । नभए जहिले पनि सामान्तीहरुको शोषण गर्ने क्रम चलिरहन्छ । मुलुकमा गरिबीले जकडिएको छ । गरिबीका कारण बिहान बेलुका खान धौं धौं छ, कहाँबाट सन्तान पढाउनु ? गरिब थप गरिब बन्नुको कारण यो पनि हो । सरकारले निःशुल्क शिक्षा भनेपनि कार्यान्वयनमा आउन सकेको छैन् । स्कुलमा फिस तिर्ने पैसा नहुँदा आत्महत्या गरेकोसम्म पीडादायी घटना छन् । यो मात्रै होइन्, आधारभूत स्वास्थ्य सेवा पनि निःशुल्क छ । तर, कसैले पाएका छैनन् । पैसा नहुँदा धेरै रोग पालेर मर्ने दिन कुरेर बसेका छन् । बल हुनुञ्जेल काम गर्छन् । रगत पसिना बगाउँछन् । तर, तिनले के पाए ? न उपचार न आफ्ना सन्तान पढाउन नै सके । रोजगारीको खोजीमा दिनहुँ हजारौं नेपाली नागरिक खाडी गइरहेका छन् । भारत छिरिरहेका छन् ।

अनि सरकार मजदुर दिवस मनाउँछ । श्रमिकमाथिको शोषण जारी नै छ । सरकार भने मजदुरको नारा लगाउँछ । एक दिन श्रमिकको नाममा नारा लगाउँदैमा केही उखालिनेवाला छैन् । व्यवसायीले जे भन्यो, त्यहीअनुरुप यहाँ कानुन बन्छ । केपी ओली नेतृत्वको सरकारले २०७६ सालमा व्यवसायीको सम्पत्ति छानबिन गर्ने विधेयक सदनमा पेश गरेको थियो । तर, सदनमा प्रस्तुत नै भएन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले त्यो सदनमा पेश गर्यो । प्रतिनिधि सभाबाट पारित भयो तर राष्ट्रिय सभामा जानै पाएन् । व्यवसायीमा यत्रो शक्ति छ । सत्तामा बस्नेहरु व्यवसायीदेखि तर्सिन्छन् भने तिनले के मजदुरको हितमा कानुन बनाउँछन् ? व्यवसायीले राजश्व छलेपनि हुने, जनता ठगेपनि सरकारले छुन नसक्ने । मजदुरको रगतपसिना चुसेपनि छुट । यस्तो देशमा मजदुरहरुको जीवनस्तरमा परिवर्तन होला भनेर नसोचेपनि हुन्छ । नेपालमा उद्योग मन्त्रालय छ । रोचक कुरा त के भने यहाँ उद्योगचाँहि छैन् । एउटा सियोसमेत यहाँ बन्दैन् ।

अन्य देशबाट आयात गरेर उद्योगीको नाममा बिचौलियाले नाफा खाएर बेचिरहेका छन् । सरकारले हालै दुई दिने लगानी सम्मेलन गर्यो । धेरै देशका पाहुनाहरु सहभागी भए । ६ अर्ब लगानी गर्छौं भनेर सम्झौता गरिएको छ, त्योपनि आउने हो कि होइन् ? सरकारसँग त्यति पैसा पनि रहेनछ । उद्योग नै छैन्, उद्योग नभएपछि रोजगारीको अवसर सिर्जना नै हुँदैन् । उद्योग व्यवसायी बिचौलिया हुन्, सरकार दलाल । नागरिकको अभिभावक भन्ने अनि दलालझैं जनता बेच्ने । राजनीतिक परिवर्तन गरेर के फाइदा भो ? सोझासोझी शहिद मात्रै भए । सर्वसाधारण र मजदुर प्रयोग मात्र भएका छन् । राजनीतिक दलहरुले कसरी झुठको खेती गर्छन्, मजदुरले पनि बुझ्नुपर्छ, सर्वसाधारण पनि सचेत हुनुपर्छ ।
अनुसा थापा
भक्तपुर