• गृहपृष्ठ
  • एकीकृत समाजवादीका नेता पौडेलले डुबाए माइलस्टोन सहकारी

एकीकृत समाजवादीका नेता पौडेलले डुबाए माइलस्टोन सहकारी

Apr 26th, 2024

काठमाडौं, बैशाख १४

नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक अध्यक्ष रहेको माइलस्टोन सहकारी संस्था डुबेको छ । २०० भन्दा धेरै बचतकर्ताको करिब १० करोड रुपैयाँ हिनामिना भएपछि उक्त सहकारी बन्द भएको हो ।

न्यूनतम तरलतासमेत नराखी पौडेल सञ्चालित जनता टेलिभिजनमा पनि लगानी गरेको उक्त सहकारीले गत फागुन मसान्तबाटै सम्पूर्ण कारोबार बन्द गरेको छ ।

निक्षेपकर्ताहरू उक्त सहकारीको बालकुमारीस्थित कार्यालयमा धाइरहेका छन् । तर उक्त सहकारीका संस्थापक अध्यक्ष पौडेल र वर्तमान अध्यक्ष नवराज खड्कासमेत बचतकर्तासँग सम्पर्कविहीन छन् ।

सञ्चालकहरूसमेत सम्पर्कमा आउन छाडेपछि उक्त सहकारीमा कार्यरत तीनजना कर्मचारी बिलखबन्दमा परेका छन् । निक्षेपकर्ताहरूले घेर्न थालेपछि उक्त सहकारीका लेखापाल सुदीप पौडेलसहित तीनजना कर्मचारीले बिहीबार राजीनामा बुझाएका छन् ।

यसअघि उक्त सहकारीका १० जनासम्म कर्मचारी थिए । तर कानूनविपरीत टेलिभिजनदेखि घर खरिदसम्ममा लगानी गरिएपछि अहिले आएर डुब्न पुगेको हो । सहकारी डुबेकोबारे प्रतिक्रिया लिन पटकपटक सम्पर्क गर्दा पनि संस्थापक अध्यक्ष पौडेलले फोन उठाएनन्‌ । सहकारी डुबाएका उनै पौडेलले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई बजेट निर्माणबारे सल्लाह दिँदै थिए ।

स्रोतका अनुसार उक्त सहकारीबाट २ करोड रुपैयाँ बचत निकालेर संस्थापक अध्यक्ष पौडेलले जनता टेलिभिजनमा लगानी गरेका थिए ।

समाजवादी उपमहासचिव पौडेलले माइलस्टोनका नाममा कलेज पनि सञ्चालन गर्दै आएका छन् । त्यसैगरी माइलस्टोन पब्लिकेशन्स पनि सञ्चालनमा छ ।