• गृहपृष्ठ
  • उप–निर्वाचनको सुरक्षा व्यवस्थापन तयारी पूरा : केन्द्रीय प्रहरी प्रवक्ता ढकाल

उप–निर्वाचनको सुरक्षा व्यवस्थापन तयारी पूरा : केन्द्रीय प्रहरी प्रवक्ता ढकाल

Apr 25th, 2024

काठमाडौं, बैशाख १३

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताउनुभएको छ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उप- निर्वाचनमा सुरक्षा तयारी सम्बन्धी जानकारी दिन नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले उक्त कुरा बताउनुभएको हो । प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन
पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणको सुरक्षा योजना बनाइ लागू गरिएको जानकारी दिनुभयो ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचनमा भाग लिने अवसर प्रदान गर्ने र निर्वाचन कार्यमा खटिने सम्पूर्ण कर्मचारीहरूको सुरक्षा प्रदान गर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “स्थानीयस्तरदेखि केन्द्रसम्म निरन्तर समन्वय, अनुगमन र सुपरिवेक्षण गरी समग्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सक्रिय पहल गरिने छ ।” प्रहरी नायव महानिरीक्षक ढकालले मतपेटिकाको सुरक्षित संकलन तथा भण्डारण गर्ने र सुरक्षित र स्वतन्त्र रूपले मतगणना सम्पन्न गराउने लगायतका सुरक्षाका समग्र काममा
नेपाल प्रहरीले चुस्त रूपमा सुरक्षा व्यवस्थापन गरेको बताउनुभयो । उप-निर्वाचनमा हुन सक्ने सम्भावित खतराहरूबारे उल्लेख गर्दै निर्वाचनपूर्व सुरक्षा व्यवस्था, निर्वाचन अवधिको सुरक्षा र निर्वाचन पश्चात सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

सम्भावित प्रतिरोध कार्य नियन्त्रण गर्न अवलम्वन गर्ने रणनीति, मतदान केन्द्रमा बल प्रयोग गर्नुपर्ने विशेष परिस्थिति र सुरक्षा कारवाही सम्बन्धमा सबै निकायहरूसँगको सहयोगमा स्थितिलाई सकेसम्म सम्झाइ बुझाई वातावरण सामान्य बनाउने प्रयत्न गरिने उहाँले प्रष्ट पार्नुभयो । प्रहरी नायव महानिरीक्षक ढकालले निर्वाचन व्यवस्थापन कार्यका लागि इलाम २ मा ७९ मतदानस्थल र १४९ केन्द्रमा गरी १ हजार ३ सय ६३ जना र बझाङमा ७४ मतदानस्थल र ९३ केन्द्रमा गरी १ हजार २४ जना प्रहरी जनशक्ति परिचालन गरिने उक्त अवसरमा बताउनुभयो । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवान्छित गतिविधि भई सुरक्षा निकायले बल प्रयोग गर्नुपर्ने स्थिति आइपरेमा प्रचलित कानुन बमोजिम सुरक्षा कारवाही गरिने उहाँले बताउनुभयो । कार्यक्रममा संचारकर्मीहरूले राखेका विविध जिज्ञासा निरूपण गर्दै प्रहरी नायव महानिरीक्षक ढकालले सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिने बताउनुभयो । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी
कार्यालयसमेतका युनिटलाई उप-निर्वाचन क्षेत्रमा परिचालन गरी थप जनशक्ति सहितको व्यवस्था गरेर शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न गराउन कुनै कसर बाँकी नराखिने उहाँले चर्चा गर्नुभयो ।