• गृहपृष्ठ
  • सहकारी ठगी काण्ड : माओवादी नेता शक्ति बस्नेत पनि मुछिए

सहकारी ठगी काण्ड : माओवादी नेता शक्ति बस्नेत पनि मुछिए

Apr 16th, 2024

काठमाडौं, बैशाख ४

आफ्नो नेतृत्व र संरक्षणमा रहेको देशका विभिन्न ठाउँका सहकारीहरू समस्याग्रस्त भएपछि फरार रहेका गितेन्द्रबाबु (जीबी) राई नेतृत्वको एक सहकारी ठगीमा संघीय सरकारका बहालवाला मन्त्री शक्ति बस्नेत समेत मुछिएको तथ्य बाहिरिएको छ ।

माओवादी केन्द्रका शक्तिशाली नेता समेत रहेका मन्त्री बस्नेत सहकारी ठगीमा जोडिएपछि उक्त पार्टीमा अब ‘बाँकी को छ ?’ भन्ने ठट्टा समेत राजनीतिक बजारमा चल्न थालेको छ ।

जीबी राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको निक्षेपकर्ता ठगीमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्याल पनि जोडिएका छन् । 

ठग प्रकरणमा नाम जोडिएपछि दुबै मन्त्रीलाई नैतिक कानुनी संकट उत्पन्न भएको छ । बस्नेत नेकपा (माओवादी केन्द्र)का उपमहासचिव र अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत हुन् । ठगी प्रकरणमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संलग्नता रहेको तथ्य समेत बाहिरिई सकेको छ । 

हाल सयौँको संख्यामा ठगीको गुनासो र उजुरीपछि सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ । सहकारीले करिब पाँच करोड रकम ठगी गरेको गुनासो प्रहरीमा पुगेको छ ।

तालुक निकायले पटक पटकको ताकेता गर्दासमेत पीडितको रकम फिर्ता नगरेपछि सहकारी विभागको सिफारिसमा गत माघ १२ गते सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । हाम्रो नयाँ कृषि सहकारी संस्थाको ठगीमा यति बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान तीव्र पारेको छ । उर्जामन्त्री बस्नेत निक्षेपकर्ताको करोडौं ठगीमा उजुरी परेको हाम्रो नयाँ कृषि सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् ।

मन्त्री बस्नेतपछि उनका पत्नी सत्य पहाडी पनि अध्यक्ष बनेका थिए । उनीहरूपछि सूर्यबहादुर गुरुङ सहकारीका अध्यक्ष बनेका थिए । गुरुङ नाताले बस्नेतका साला पर्छन् । गुरुङपछि उक्त सहकारीको अध्यक्ष जीबी राई बनेका थिए । श्रममन्त्री अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको पूर्वउपाध्यक्ष हुन् । उनी सूर्यबहादुर गुरुङ अध्यक्ष बन्दा उपाध्यक्ष बनेका थिए ।

रास्वपाका सहमहामन्त्री बुर्लाकोटी त्यस बेला सञ्चालक थिए । पूर्वअध्यक्ष र पदाधिकारी भएकोले सहकारी ठगीमा उर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल प्रत्यक्ष जोडिएका हुन् ।