• गृहपृष्ठ
  • राप्रपाको दोहोरो चरित्रः पछिल्लो संविधानअनुसार सांसद बन्ने अनि राजतन्त्र भन्दै जनतालाई सडकमा उतारेर लाठी खुवाउने !

राप्रपाको दोहोरो चरित्रः पछिल्लो संविधानअनुसार सांसद बन्ने अनि राजतन्त्र भन्दै जनतालाई सडकमा उतारेर लाठी खुवाउने !

Apr 10th, 2024

काठमाडौं, चैत २८

जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्छन्,‘तपाईं २०७२ सालको संविधानअनुसार चुनाव लडेको हो कि होइन् ?’ नेपालको संविधान, २०७२ मा कतै राजतन्त्र उल्लेख छैन् । हिन्दू राष्ट्र पनि भनिएको छ । संविधानले त लोकतन्त्रको कुरा गरेको छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा राप्रपा पनि होमिएको थियो । संविधानबमोजिम नै राप्रपाले जनतासँग भोट माग्यो । जनताले १४ सीट दिए । २०७९ पुस ११ गते राप्रपाबाट लिङ्देनसहित अन्य नेता मन्त्री खान पुगे । राप्रपासँग नैतिकता रहेछ त ? गम्भीर प्रश्न होइन् यो । जनतालाई कतिसम्म झुक्काउने ? कि हामी लोकतन्त्र मान्दैनौं भनेर राप्रपाका सबै सांसदले भटाभटी राजीनामा दिनुपर्यो । जनताले तिरेको करबाट तलबभत्ता खाने, सरकारी गाडी चढ्ने अनि देशमा राजा चाहियो भन्दै सीधासाधीलाई प्रहरीको लाठी खुवाउने ?

कतिसम्म सामन्ती र शोषकी सोच हो यो । सांसदको लोगो कि बुझाऊ कि यो ढोंग नरच । हामी २०७२ सालको संविधान मान्दैनौं, संसदमा जाँदैनौं भनेपनि एउटा कुरा । लोकतान्त्रिक व्यवस्थामा सांसद बन्ने, मन्त्री खाने अनि सीधासाधी युवालाई सडकमा उतार्ने ? यस्तालाई जनताले कसरी पत्याउने ? राप्रपासँग के भिजन छ ? जनताले तिरेको करबाट तलबभत्ता खाने अनि सडकमा आउने । जनतामा भ्रम छर्नेपनि एउटा हद हुन्छ । कतिसम्मचाँहि जनतालाई ‘मुर्गा’ बनाउन जानेका हुन् । जनताले तिरेको पनि खाने, पूर्वराजाबाट ल्याएर पनि खाने रणनीति हो यिनीहरुको भन्ने कसले बुझेको छैन् ? २०७० सालको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपाले २४ सीट पायो । सदनमा चौथो दल बन्यो राप्रपा । राजाको नारा लगाउँदै हिँड्ने कमल थापाको पतन किन भयो भन्ने त सबैले छर्लङ्ग देखेका छन् ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि जतिपनि सरकार गठन भयो, त्यसमा कमल थापा मन्त्री खान पुगे । केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवाकै सरकारमा उनी मन्त्री थिए । त्यही हर्कतका कारण २०७४ सालको निर्वाचनमा राप्रपा एक सीटमा खुम्चियो । लिङ्देन मात्रै झापाबाट निर्वाचित भए । यस्तै चर्तिकलाले गर्दा २०८४ सालको चुनावमा राप्रपाको इतिहास नै सकिने देखिएको छ । जनताले राप्रपाका नेताहरुको दोहोरो चरित्र देखिसकेका छन् । राप्रपाका नेताहरुले देशमा पुनः राजतन्त्र फर्काउने भनेर पूर्वराजा ज्ञानेन्द्रबाट पैसा ल्याएर खाने गरेको आम जनताको बुझाइ छ । कमल थापाको राजनीति लगभग अन्त्यमा आइसकेको छ । उनले राजनीतिबाट सन्यास लिए हुन्छ । अब पालो लिङ्देनको हो । सीधासाधी युवालाई सडकमा ल्याउने, ट्राफिक जाम गराउने, आम जनतालाई दुःख दिने, शान्तिसुरक्षामा खलल पार्ने लिङ्देनले पहिले त आफ्नो धारणा स्पष्ट पार्नुपर्यो ।

आफूचाँहि यताबाट नि खाने, उताबाट नि खाने अनि जनताका छोराछोरीलाई सडकमा उतारेर पानीको फोहोरा, प्रहरीको लाठी खुवाउने ? जोसँग विचारधारा छैन्, सिद्धान्त छैन्, नैतिकता छैन्, उसको पछाडि दौडिनु एउटा बेवकुफी हो भन्ने कुरा जनताले पनि बुझ्नुपर्छ । यहाँ जसले पनि आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । जनता हिजोपनि सित्तैमा शहिद बनेका थिए, भोलि पनि सित्तैमा शहिद बन्छन् । पदमा पुग्नेहरुले पछि फर्किएर पनि हेर्दैनन् । यदि राप्रपाका नेताहरुसँग नैतिकता छ भने सडकबाटै सांसद पदबाट राजीनामा गर । आफ्नो फाइदाका लागि बिनासित्ती जनताको छोराछोरीलाई लाठी नखुवाऊ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तिय संस्थाका पीडितसग के गरे ? सबैले देखेकै छौं । आफ्नो अस्पताललाई अदालतले इजाजत नदिऊञ्जेल उनले पीडितहरुलाई सडकमा उतारे ।

सर्वोच्च अदालतले इजाजत दिएपछि उनी गुपसुम छन् । प्रसाईंले त आफूले चाहेको कुरा पाए, उनको पछाडि दौडिनेले के पाए ? सबैले के बुझ्नुपर्छ भने अब २०४७ सालको संविधान ब्यूतिँदैन् । राप्रपाले लगाएको नारा कुनै हालतमा पनि पूरा हुने छैन् । पछिल्लो संविधानपछि मुलुकमा धेरै कानुन बनिसकेको छ । प्रदेशको स्थापना भएको छ । माओवादीले जनयुद्धको क्रममा राखेको ४१ सूत्रीय माग त पूरा गरिसकेको छ । काँग्रेस, एमाले, मधेशी दलसँग मिलेर हुन्छ कि घुर्काएर देशमा संविधान त आयो । संविधान बन्यो, देशमा संघीयता आयो । राप्रपाले जेसुकै गरेपनि यो व्यवस्था फेरिनेवाला छैन् । १० वर्ष जनयुद्ध गरेर ल्याएको व्यवस्था मुखले भट्याउँदैमा परिवर्तन हुन्छ ? लिङ्देनले कि हतियार उठाएर अर्को जनयुद्ध गर्न सक्नुपर्यो कि अहिलेको व्यवस्था मान्नुपर्यो । राप्रपाले कहिलेसम्म जनतालाई ढाँट्ने ?

ढाँटेको कुरा कहिलेसम्म छोपिन्छ ? कहिले त बाहिर आइ नै हाल्छ । राप्रपाको हाल पनि त्यस्तै हो । राप्रपा अहिले विपक्षी दलमा छ । २०७९ सालको निर्वाचनबाट काँग्रेस पहिलो र एमाले दोस्रो पार्टी बन्यो । तर, यी पार्टीले त सरकार गठन गर्न सकेनन् । ३२ सीटेले देशको ड्राइभिङ सीट हाकिरहेको छ । त्यत्रो ठूल्ठूला पार्टीले त देशलाई निकास दिन नसकेको बेला राप्रपाले फूर्ति लगाएर हुन्छ ? बाहिर जतिसुकै ठूला कुरा गरेपनि प्रचण्डको सामुन्ने सबै राजनीतिक दलको चुप हुन्छन् । नेतासँग आफ्नो भिजन राख्न सक्ने आँट हुनुपर्छ । त्याग गर्न सक्नुपर्छ । यो गर्न नसक्ने व्यक्ति कहिले नेता नै बन्न सक्दैन् । जुनसुकै राजनीतिक दल होस्, तिनको सिद्धान्त आफैं खाऊँ र आफैं लाऊँ मात्र हो । ‘मुखमा रामराम, बगालीमा छुरा’ भन्ने चर्चित उखान नेपाली राजनीतिक दलका हर्कतसँग ठ्याक्कै मिल्दोजुल्दो छ ।
नाम जनताको, फाइदा सँधै आफ्नो, राजनीतिक दलको सिद्धान्त नै यही हो । हिजोकै कुरा गरौं, एक हजार मान्छे सडकमा ल्याएर संविधान खारेज हुन्छ ? अहिलेका गृहमन्त्री रवि लामिछानेलाई हेरौं । हिजो सञ्चारकर्मी हुँदा राजनीतिक दललाई बेस्सरी गाली गर्ने लामिछाने आज सञ्चारकर्मीलाई नै बेस्सरी गाली गर्छन् । यिनीहरु जता फाइदा हुन्छ, त्यतै ढल्किन्छन् भन्ने पुष्ट्याइँ हो यो ।

राजाको पालामा समेत गृहमन्त्री भएका कमल थापाले जनतालाई ढ्याङढ्याङ् गोली हान्न लगाए । २०६२–६३ सालको १९ दिने आन्दोलनमा धेरैले ज्यान गुमाए । उनको निर्देशनले गर्दा प्रहरीले आँखा चिम्लेर गोली चलायो । नयाँ संविधान जारी भएपछि त्यही व्यक्ति तीन पटक मन्त्री भए । अनि यिनीहरुसँग नैतिकता छ ? राप्रपाले पनि अब त्यही खेल नखेलेपनि हुन्छ । बरु, देशको आर्थिक अवस्था नाजुक छ । सरकारी गाडी नचढ्ने, तलबभत्ता नबुझ्ने, देशविदेश नघुम्ने घोषणा गरेचाँहि जनताले अलिकति भएपनि विश्वास गर्छन् कि । नत्र यस्तो पार्टीले देश र जनताको गीत नगाएकै बेश होला । एउटा सरकारी सेवासुविधा त त्याग्न नसक्नेले देश विकास गर्छन् ? सोखमा बाँचिरहेकाहरुबाट परिवर्तन हुन्छ ? भ्रष्टाचार गर्ने बानी लागेकाले देश सुधार गर्छन् ?

भिजनबिना जनतालाई सडकमा उतार्ने अनि मिडियाबाजी गर्ने । हामीले जनताको पक्षमा आवाज उठाथौं है भन्ने देखाउने खेल मात्र होइन् ? यिनीहरुको आन्दोलनको औचित्य के ? कि छिमेकीले लगेको नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्यो । कि विदेशी ऋण मिनाहा गर्नुपर्यो । आफ्नो अनुहार देखाउनका लागि जनतालाई दुःख दिन यिनीहरुलाई लाज लाग्दैन् ? यिनीहरुको कारणले हिजो जनताले एकदमै दुःख पाए । जनताको आवाज राख्न सदन छैन् ? सदनमा जनताको आवाज राख्न नसक्ने अनि सडकमा उत्रिएर जनतालाई दुःख दिने ? यस्ता ढोंगी अनुहारहरु जनताले चिनिराख्नुपर्छ । यिनीहरु ‘फटाहा’ हुन् भन्ने छर्लङ्ग भइसकेको छ । जनताले तिरेको कर खाने पनि लिङ्देन, जनतालाई दुःख दिनेपनि लिङ्देन । अब यस्तो नौटंकी बन्द गरौं । किन कि जनता आजित भइसकेका छन् ।
अनुसा थापा
भक्तपुर