• गृहपृष्ठ
  • सहकारी संकट- ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब जोखिममा

सहकारी संकट- ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब जोखिममा

Apr 5th, 2024

काठमाडौं, चैत २३

३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् । सम्बद्ध स्रोतका अनुसार ‘उपचार गर्न भारत जान्छु’ भन्दै हिँडेका उप्रेती दुई महिनासम्म पनि फर्किएका छैनन् । अहिले यो  सहकारीका करिब २ सय बचतकर्ताले करिब २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।

आइडियल युमना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको थियो । करिब एक महिनाअघि विभागले तयार पारेको विवरण अनुसार यो सहकारीबाट १ सय ८० बचतकर्ताले १ अर्ब ५० करोड बचत फिर्ता माग्दै विभागमा निवेदन दिइसकेका छन् । नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेती बेपत्ता भएपछि उनलाई उक्त  जिम्मेवारीबाट पनि हटाइएको छ ।

उपचार गर्न भन्दै भारत गए पनि पार्टीले पनि कारबाही गर्ने भएपछि उप्रेती उपचार लम्बिएको भन्दै भारतमै बसेको स्रोतको दाबी छ । विभिन्न सहकारी मर्ज गर्दै उप्रेतीले ‘हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था’ सञ्चालन गर्दै आएका थिए । गत असारमा हाम्रो सगरमाथामा आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था मर्ज गरेर आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका नाममा कारोबार गर्न सहकारी विभाबाट स्वीकृति लिएका थिए ।

संस्थाको एकीकृत नाममा स्वीकृति पाए पनि मर्ज हुँदैदेखि हाम्रो सगरमाथा र नागरिक कल्याण सहकारीमा समस्या भएपछि एकीकृत कारोबार सुरु हुन सकेन । ८ असोजमा पाँच संस्था मर्जपछिको एकीकृत संस्थाको साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भयो भने सोही सञ्चालक समितिले डिमर्जमा जाने निर्णय समेत गर्दै सहकारी विभागमा निवेदन दिएको छ । उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पनि छन्  ।

२९ फागुनमा भएको बैंकको सञ्चालक समिति बैंठकमा  उप्रेती भर्चुअल माध्यमबाट सहभागी भएको बैंकका अधिकारीहरू बताउँछन् । उप्रेतीले बैंकबाट आफैं अध्यक्ष भएको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीलाई करिब ३० करोड ऋण दिलाएका थिए । सहकारीले उक्त ऋण तिर्न सकेको छैन । पाँच संस्थाले बैंकबाट लिएको ऋण करिब ६३ करोड रहेको स्रोतको दाबी छ ।  आइतबार बैंकमा मर्ज भएका सबै संस्थाका प्रतिनिधिको उपस्थितिमा  उक्त ऋण कसरी तिर्न भन्ने विषयमा छलफल समेत भएको थियो । सहकारी क्षेत्रमा उप्रेतीका क्रियाकलापलाई सहकारी विभागले समेत ‘संरक्षण’ गर्दै आएको थियो । बचत फिर्ता नगरेका सहकारीहरूलाई मर्ज गर्ने, नयाँ सेवा केन्द्र खोल्ने लगायत कुनै पनि अनुमति विभागले दिने गरेको थिएन ।

हाम्रो सगरमाथा सहकारीले बचत फिर्ता नगरेको भन्दै सहकारीको डल्लु सेवा केन्द्रका ७२ बचतकर्ताले सहकारी विभागमा उजुरी हालेका थिए । तर, त्यो निवेदन विभागमा हुँदाहुँदै विभागले हाम्रो सगरमाथा, आइडियल यमुना, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नेसनल नमोबुद्ध बचत तथा ऋण, नागरिक कल्याण बहुउद्देश्यीय र घेदुङ बहुउद्देश्यीय सहकारीलाई मर्जरको स्वीकृति दिएको थियो । समस्यामा रहेका संस्थाले एकीकृत नाम पाए पनि एकीकृत कारोबार नगर्दै डिमर्जरको निर्णय गरेर विभागमा निवेदन दिएका हुन् ।