९ सहकारीमा राष्ट्र बैंकसहितको अनुगमन

Mar 30th, 2024

राम्रो व्यवस्थापनमा चलेको भनिएका सहकारी संस्थामा समेत संस्थागत सुशासनमा समस्या देखिएको नेपाल राष्ट्र बैंकको अनुगमनमा भेटिएको छ ।

संघीय सहकारी विभागले राष्ट्र बैंकको प्राविधिक जनशक्तिको सहयोगमा नौ वटा सहकारी संस्था अनुगमन निरीक्षण गर्दा तिनको संस्थागत सुशासनमा कैफियत भेटिएको हो ।

सहकारी विभागका अनुसार काभ्रेका ३, काठमाडौँका ५ र ललितपुरको एउटा सहकारीको अनुगमन सकिएको छ । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको विभागले बताएको छ ।

अनुगमनको क्रममा अधिकांश सहकारीले जथाभावी कर्जा प्रवाह गरेको पाइएको छ । सहकारीको वित्तीय अवस्था हेर्दा अधिकांशले सिमाभन्दा बढी रकम घरजग्गा क्षेत्रमा लगानी गरेको पाइएको अनुगमनमा संलग्न अधिकारीहरु बताउँछन् ।

धितो मूल्यांकनभन्दा बढी कर्जा लगानी गरेको, भाखा नाघेको कर्जाको प्रोभिजन नगरेको, गैर बैंकिङ सम्पत्ति बढिरहेको र अधिकांश कर्जा खराब पाइएको अनुगमन समितिले फेला पारेका छ ।

अनुगमनको नेतृत्व सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्यायले गरेका थिए । अनुगमनमा राष्ट्र बैंकबाट उपनिर्देशक डा. रमेश चौलागाईं, रामकृष्ण राई र रमेश पौडेल सहभागी थिए ।