• गृहपृष्ठ
  • सुस्मिताको न्यायका लागि संघर्ष समिती गठन

सुस्मिताको न्यायका लागि संघर्ष समिती गठन

Mar 24th, 2024

काठमाडौं, चैत ११

 आफ्नै परिवारको सदस्यहरुको संलग्नतामा मारिएकी सुस्मिता केसीको न्यायका लागि भन्दै सामाजिक अभियन्ताहरुले संघर्ष समिति गठन गरेका छन् । (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले संघर्ष समिति गठन भएको औपचारिक घोषणा गरेका हुन् ।

संघर्ष समितिको संरक्षकमा मृतक सुस्मितकी आमा गंगा केसी, ठूलोबुबा हेमबहादुर खड्का, बुबा कृण केसी रहेका छन् । सल्लाहकारमा नेपाल स्वयम् सेवक संघका अध्यक्ष खेमराज पौडेल छन्, विमला गैरे, जस्मिन ओझा, रेनु सेन, राजनन्द माण्डव्य रहेका छन् । प्रचारप्रसारमा बिकास थापा र राजन थापा छन ।

काठमाडौं उपत्यका संघर्ष समिती सम्योजकमा सामाजिक अभियन्ता बेबि राजभण्डारी , सह सम्योजक मिना बस्नेत, सदस्य सचिब मृदुला शर्मा लगायत 13 सदस्य रहेका छन।

२०७७ साल असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा सुस्मितकाको क्रुर हत्या भएको थियो । उक्त हत्या प्रकरणमा जिल्ला अदालत मकवानपुरले मृतक सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जन्मकैदको सजाय सुनाएको थियो । सुस्मितकी सासुले भने मतियारको रुपमा भूमिका निर्वाह गरेको भन्दै उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो ।

उच्च अदालत हेटौडा इजलासले उक्त घटनाका मुख्य डिजाइनर भनेर चिनिएका अरुण र दुर्गालाई सफाइ दिएको भन्दै अभियन्ताहरुले आपत्ति जनाए । सुस्मिता हत्या प्रकरणको मुख्य डिजाइनर नै दुर्गा र अरुण रहेको उनीहरुको दाबी छ । सुस्मिताको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउन् भनेर संघर्ष समिति बनाएर अगाडि बढ्ने निर्णय भएको बताइएको छ ।

मृतक सुस्मिता केसीकी आमा गंगा केसीले छोरीको न्यायको लागि लड्दै हिँडेको चार वर्ष पुग्न लाग्दा पनि आफूहरुलाई न्याय पाएको अनुभूति नभएको बताईन् । उनले सुस्मिताको न्यायका लागि र प्रत्येक अन्यायमा परेका छोरीहरुका लागि आवाज उठाउन आवश्यक रहेको निश्कर्षसहित संघर्ष समिति बनाएरै न्यायका लागि होमिने निर्णयमा पुगेको बताईन् ।