• गृहपृष्ठ
  • नयाँ मन्त्रिमण्डल गठन भएको हप्ता दिन बित्यो तर कुनै मन्त्रीले पनि गरेनन् केही काम

नयाँ मन्त्रिमण्डल गठन भएको हप्ता दिन बित्यो तर कुनै मन्त्रीले पनि गरेनन् केही काम

Mar 15th, 2024

काठमाडौं, चैत २
काम गर्ने मान्छेको लागि एक सेकेण्ड समय पनि महत्त्वपूर्ण हुन्छ । घण्टा र दिन त झन् काम गर्ने अवसर पाउनु हो । मान्छे जन्मिँदा र मर्दा त कति बजेर कति मिनेटमा जन्मियो वा मप्यो भनेर विवरण संकलन गरिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सम्मिलित गठबन्धन तोडेर नेकपा एमाले, रास्वपा, एकीकृत समाजवादी र जसपासहितको गठबन्धन बनाई मन्त्रिमण्डल गठन गरेको पनि हप्ता दिन भइसकेको छ । तर, कुनै पनि मन्त्रीले अहिलेसम्म एउटा काम गरेका छैनन् । गृहमन्त्री रवि लामिछानेले अहिलेसम्म सार्वजनिक, गुठी, सरकारी, मठमन्दिरलगायतका जग्गा आफ्नो नाममा लैजाने वा दुरुपयोग गर्नेमाथि कारबाहीको प्रक्रिया अघि बढाएका छैनन् । न त सुन काण्डमा मुछिएका व्यक्तिलाई नै समातेका छन् । बजारमा कालोबजारी गर्ने, सिण्डिकेट लगाउनेलाई पनि कानूनको दायरमा ल्याएका छैनन् ।

बचतकर्ताहरुको रकम फिर्ता नगर्ने सहकारीका चालकहरुलाई पनि पक्रा उगर्न निर्देशन दिएका छैनन् । उल्टै सहकारी ठगीको आरोप गृहमन्त्री लामिछानेमाथि नै छ । चार दशकदेखि ट्याक्सीमा सिण्डिकेट छ । लामो समयदेखि हरियो र कालोप्लेटको ट्याक्सीको नयाँ दर्ता खुलेको छैन । न त कालीमाटीमा ढुवानी गाडीको नै नयाँ दर्ता खुलेको छ । त्यस्तै, फोस्टक ट्याम्पोको पनि नयाँ दर्ता खुलेको छैन । यातायातमन्त्री भएर आएको यत्रो दिनसम्म पनि रघुवीर महासेठले ट्याक्सीको नयाँ दर्ता खोल्ने प्रयास गरेका छैनन् । काठमाडौं उपत्यकासहित मुलुकभर ट्याक्सीमा सिण्डिकेट कायमै छ । यता, अर्थमन्त्रीमा वर्षमान पुन छन् । केही दिनअघिदेखि बैंकमा पैसा निकाल्नेको भीड बढेको छ । सञ्चार माध्यमहरुमा पनि ठुल्ठुल्ला नाम चलेका बैंक डुब्न लागेको भनी समाचार आइरहेका छन् । यसले बैंकमा पैसा राख्नेभन्दा निकाल्ने बढिरहेका छन् । काम नगर्ने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई हटाउनका लागि अर्थमन्त्री पुनले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छैनन् । उल्टै उनीमाथि सुन तस्करीको आरोप छ ।
पुन अर्थमन्त्री भएर आएपछि सेयरको मूल्य हवात्तै घटेको छ । बजारमा घरजग्गा कारोबार ठप्प छ । बजार झन् मन्दीतर्फ जाँदै छ भने जनता निराश छन् । करोडौं बचतकर्ताको खर्बो रकम सहकारीले डुबाइदिएको छ । बचतकर्ताहरुले निेक्षेप फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

तर, सहकारीमन्त्री बलराम अधिकारीले न बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई कारबाही गरेका छन् न रकम फिर्ता नगर्ने सहकारीको दर्ता खारेज गरेका छन् । सहकारीले एकै बचतकर्ताको पाँच हजारदेखि पन्ध्र करोडसम्म खाइदिएको छ । सहकारीले पैसा खाइदिएपछि कतिपय बचतकर्ताले आत्महत्या गरेका छन् । कतिपय डिप्रेसनमा गएका छन् भने कतिपयको घरबार नै उजडिएको छ । तर, सहकारीमन्त्री अधिकारीलाई केही मतलब छैन । बचतकर्ताहरुले महिनौंदेखि आन्दोलनरत छन् । बिडम्वना, उनीहरुको दुःख न त सहकारी विभागका महानिर्देशकले देखेका छन् न त मन्त्रीले नै । हिजो विपक्ष दलमा हुँदा एमालेका नेता पदम गिरी बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई कारबाही गनुपर्ने बताउँथे । सञ्चालकहरुको सम्पत्ति रोक्का गर्नुपर्ने र विदेश जान पनि प्रतिबन्ध लगाउनुपर्ने भन्थे । तर, अहिले कानूनमन्त्री भएपछि सहकारीका सञ्चालकहरुलाई पक्राउ गर्न नहुनु बताइरहेका छन् ।

अहिले तीन करोड नेपाली जनताको शिर निहुरिएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपाली मुख देखाउन नसक्ने अवस्थामा पुगेका छन् । सहकारी ठगीको आरोप लागेका रवि लामिछानेलाई प्रचण्ड र ओलीले गृहमन्त्री बनाएका छन् । यसले गर्दा समग्र देश र जनताकै शिर निहुरिएको छ । अब विपक्ष दलहरुले गृहमन्त्रीलाई सदनमा छिर्न दिनुहुन्न ।
ठगीको आरोप लागेको व्यक्तिलाई सदनमा बस्न दिनुहुन्न न त गृहमन्त्री पदमा । तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत पुस २५ गते सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरे र सिआईबी प्रमुख किरण बज्राचार्यलाई मन्त्रलयमै बोलाएर रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
सिआईबीले लामिछानेमाथि जुन जुन सहकारी ठगीको आरोप लागेको छ, त्यो सबै जिल्लाबाट ल्यायो वा त्यँही पुग्यो । तर, न त लामिछानेलाई बयानका लागि बोलाइयो न त पक्राउ नै गरियो । यसबाट सिआईबीमाथि नै प्रश्न खडा भएको छ । लामिछानेको अगाडि प्रहरी प्रशासनले समेतआत्मसमपर्ण गरिसकेको छ । ठूलोलाई चेन, सानोलाई ऐन भनेर भनिन्थ्यो । त्यो पनि यहाँ प्रमाणित भएको छ । सिन्धुलीका युवराज सफलले सहकारी ठगीको आरोप खेपेका लामिछानेमाथि अनुसन्धान गर्नका लागि पटकपटक विभिन्न निकायमा निवेदन दिए । यता, सहकारी विभागले लामिछानेमाथि अनुसन्धान गर्न सिआईबीलाई पत्र समेत लेखेको पाइन्छ ।

तर, सिआईबीले लामिछानेमाथि अनुसन्धान गर्नु त परको कुरा हो, बयानका लागि समेत बोलाएन । अहिले आएका नयाँ मन्त्रीहरुले पनि केही गर्दैनन् भनेर जनता स्पष्ट भइसकेका छन् । प्रत्येक दिन बेरोजगारी बढेको छ । महंगी बढेको छ । जनतालाई बाँच्न मुस्किल परिसकेको छ । सरकारी कर्मचारीहरु अहिले पनि जनताको काम गर्दैनन् । बिहान १० बजे कार्यालय आउनुपर्नेमा १२ बजे आइपुग्छन् । अनि बेलुका ५ बजेसम्म बस्नुपर्नेमा ३ बजे नै निस्किन्छन् । घुसबिना जनताको काम गर्दैनन् । सार्वजनिक बिदाको दिन समेत सरकारी गाडी लिएर हिँड्छन् । ट्राफिकले पनि बिदाको दिन गुडेका सरकारी गाडीलाई कारबाही गर्दैनन् । यता, न त बीस वर्ष कटेपछि पनि बाटोमा धुँवाको मुस्लो फ्यालेर गुडिरहेका सार्वजनिक सवारीसाधनलाई नै पक्राउ गर्छ । सरकारले बीस वर्ष पुगेका भाडाका गाडी हटाउने भनेर कानून बनाएर राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । तर, अहिले पनि बाटोमा खुलेआम २४ वर्ष पुगेको ट्याक्सी, २७ वर्ष पुगेको माइक्रोबस र ३२ वर्ष पुगेका बस र ग्याँस ट्याम्पो गुडिरहेका छन् । ट्राफिक भने यस्ता सवारीसाधनलाई कारबाही गर्दैन । मुख्य सडकमा होस् या भित्री गल्लीमा । दिन होस् या रात । कहिले पनि ट्राफिकले सवारीसाधनको अनुगमन गरिरहेको देखिदैंन । कतिपय ट्राफिकहरु पसलभित्र गफ गरिरहेका हुन्छन् त कतिपय ट्राफिकहरुले ड्रेसमै खैनी, चुरोट खाएको देखिन्छ ।

कानूनअनुसार सार्वजनिक स्थलमा चुरोट, खैनीलगायत सुर्तीजन्य पदार्थहरु पनि खान पाइदैंन । तर, कानून कार्यान्वयन गर्ने निकायकै व्यक्तिहरुले कानून उल्लंघन गरिरहेको भेटिन्छ । मीनभवनस्थित यातायात व्यवस्था विभागअगाडि जहिल्यै चार जना ट्राफिक उभिएर बसेका हुन्छन् । यद्यपि, ती ट्राफिकहरुले न त कहिले सवारीसाधन अनुगमन गर्छन् न त यात्रुसँग बढी भाडा लिने, सिटभन्दा बढी यात्रु हाल्ने सवारीसाधनलाई कारबाही गर्छन् ।
ट्राफिक–ट्राफिक भेला हुन्छन् अनि गफ गरेर बस्छन् । अनि यस्ता ट्राफिक भएपछि जनताले कहिले सुख पाउँछन् ? कसरी जनताले सरकारले तोकेको भाडामा यात्रा गर्न पाउँछन् ? कसरी यात्रुमाथि दुव्र्यवहार गर्ने चालक, सहचालकमाथि कारबाही हुन्छ ? प्रधानमन्त्री प्रचण्डले पन्ध्र महिना त गफै गफमा समय बिताए ।
पन्ध्र महिनाको अवधिमा सदनबाट तीन मत विश्वासको मत लिए । यो इतिहासको पहिलो घटना पनि होला सायद । विदेशी ऋण २७ खर्ब पुगिसकेको छ । राजस्व उठ्न छोडिसक्यो । सटर, कोठा, फ्रल्याट धमाधम खाली भएका छन् । व्यापारव्यवसाय ठप्पै छ । घरजग्गा, गाडी र सेयरको कारबोरमा पनि मन्दी छ । निजी संघसंस्था, कम्पनीमा काम गर्नेहरुले वर्षोदेखि तलब पाएका छैनन् । रोजगारीको सिलसिलामा खाडी जानेहरु हवात्तै बढेका छन् । तर, प्रचण्ड, ओली र माधव नेपाललाई देश र जनता बाँदरको हतमा नरीवल जस्तै भएको छ ।

यी तीन जना बाँदरले देश बर्बाद बनाए भनेर अहिले सर्वसाधारण भन्छन् । अब जनता यीनीहरुको विरोधमा कहिले उत्रिने ? आफ्नो मातृभूमि कसरी बचाउने ? मुलुकको अधिंकाश भूभाग भारत र चीनले कब्जा गरिसकेका छन् । केही दिनअघि मात्र ओलीले नेकपा माओवादी र कांग्रेसको गठबन्धन आफैंले फुटाएको बताए ।चीनले गठबन्धन न त फुटाएको न त नयाँ गठबन्धन नै बनाएको उनले भनेका थिए । हाम्रा देशका राजनीतिक दलका नेताहरु देश र जनताको ठुल्ठुल्लो कुरा गर्छन् । जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । सरकारी गाडी चढ्छन् । तर, काम चाँहि विदेशीको गर्छन् । कोही प्रधानमन्त्रीका लागि भारत त कोही चीनसँग अनुरोध गर्छन् । बरु एउटा जग्गा दलाली गर्नेको इज्जत छ । तर, ओली र प्रचण्डको कौडीको इज्जत छैन । किनकि यीनीहरु देश बेच्ने दलाली हुन् । जनताले तिरेको करमा मोजमस्ती गर्ने शोषक, सामान्ती हुन् । अनि यस्ताबाट पनि देश बन्छ भनेर जनताले अझै आशा गर्नु बेकार छ । अब जनता यस्ताको विरोधमा सडकमा आउनैपर्छ । र, आफ्नो मातृभूमि बचाउनुपर्छ ।
रुषा थापा
भक्तपुर