• गृहपृष्ठ
  • मेडिसिटिमा अहिले सम्म २३ जनाको मृगौला प्रत्यारोपण सफल

मेडिसिटिमा अहिले सम्म २३ जनाको मृगौला प्रत्यारोपण सफल

Mar 12th, 2024

ललितपुर, फागुन २९

पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ। नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ। यीमध्ये तीन लाख मानिसको मृगौलाका दीर्घरोग रहेको छ। हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन् ।
नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । आज पत्रकार सम्मेलनमा हालसम्म २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेकाे जनाएको छ ।
अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए । उनले भने – “२३ जनामा अधिकाश उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए ।”
उनले मृगौला बिग्रनुको अर्को कारण ग्लोमेरुलो नेफ़ाइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जाने बताए ।
उनले विदेशबाट काम गरेर फर्केका व्यक्तिहरु र विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको जानकारी दिदै ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुबईबाट फर्केर उपचारका लागि आएकाे बताए ।
निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएकाे डा पाैडेलले बताए ।
अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको र मृगौला दान गर्नेहरुमा १८ बर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेकाे अस्पतालले जनाएको छ।
नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।

“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्, ” डा. काफ्लेले भने ।

मृगौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएकाे छ । हालसम्म १५० भन्दा वढ़ि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेकाे अस्पताल जनाएकाे छ ।

मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ ।

उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी, एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको छ ।

विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुंच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धैरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको छ ।