• गृहपृष्ठ
  • देशको कानुनः न्याय माग्न आएका पीडितको हातमा हत्कडी, सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई झण्डावाल गाडी !

देशको कानुनः न्याय माग्न आएका पीडितको हातमा हत्कडी, सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई झण्डावाल गाडी !

Mar 10th, 2024

काठमाडौं, फागुन २७

यतिबेला सरकार उथुलपुथुल भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रीहरु फेरिएका छन् । गृह मन्त्रालयमा सहकारी ठगठागको आरोप लागेका रवि लामिछाने आएका छन् । जो काण्डमा मुछिएको छ, उसैलाई गृहजस्तो महत्वपूर्ण र अनुसन्धान गर्ने मन्त्रालयको जिम्मेवारी दिइएको छ । निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले बचत फिर्ता नगर्ने सहकारीका सञ्चालकमाथि धमाधम कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । गत पुस २५ गते मन्त्रालयमा सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरे र सीआईबी प्रमुख किरण बज्राचार्यलाई राखेर उनले लामिछानेमाथि पनि छानबिन गर्न निर्देश गरेका थिए ।

यता, अधिवक्ता युवराज सफलले पनि लामिछानेमाथि छानबिन र कारबाहीका लागि विभागमा निवेदन दिए । सांसद पदबाट बर्खास्त गर्न माग गर्दै सफलले प्रतिनिधिसभामा पनि उजुरी दिएका थिए । विभागले लामिछानेमाथि छानबिन गर्न सीआईबीलाई पत्र लेख्यो । लामिछानेमाथि लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।
फरार जिबी राईको विभिन्न सहकारीबाट पैसा निकालेर ग्यालेक्सी टेलिभिजनमा लगानी गरिएको विषयहरु बाहिरिएको छ । देशैभरका सहकारी जोखिममा छ । करोडौं बचतकर्ताको ३८ खर्ब रुपैयाँ बचत ३५ हजार बढी सहकारीले खाइदिएको छ । सहकारीले पैसा खाइदिएपछि बचतकर्ताको बिल्लीबाठ भएको छ । आफ्नो जिन्दगीभरको कमाइ पचाइदिएको सहन नसकेकाहरु तनावकै कारण ज्यान गुमाएका छन् । एकातिर पैसा पनि गयो, अर्कोतिर ज्यान पनि । कतिपयको पारिवारिक सम्बन्ध बिग्रिएको छ । श्रीमान् श्रीमतीबीच विचलन आएको छ । करोडपतिहरु सडकपति बनेका छन् ।


सहकारीले पैसा खाइदिएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । अहिले विभागमा आन्दोलन जारी छ । आफ्नो बचतको सुनिश्चितता गर्न माग गर्दै बचतकर्ताहरुले विभागमा धर्ना दिएका छन् । यसअघि पनि सहकारी पीडितहरुले माइतीघर मण्डलामा ६२ दिन लामो आन्दोलन गरेका थिए । सहकारीमा देखिएको समस्या त सबैको आँखासामु छर्लङ्ग छ । लामिछाने सहकारी काण्डमा मुछिएको पनि सबैलाई थाहा छ । तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो सत्ता टिकाउनका लागि उनलाई नै गृहमन्त्री दिएको छ । सीआईबीको घेरामा हुनुपर्ने व्यक्तिलाई झण्डावाल गाडी चढ्ने ठाउँमा पुर्याइएको छ । कुनै पनि राजनीतिक दलको सांसदले लामिछानेलाई कारबाही गर्नुपर्छ भनेर आवाज उठाएका छैनन् । लामिछानेको सामुन्ने सबै सांसद थुरुरु हुन्छन् । सीआईबीले लामिछानेमाथि छानबिन गर्न निर्देशन पाएको पनि दुई महिना बितिसकेको छ । तर, उनलाई बोलाउने, सोधपुछ गर्ने काम सीआईबीले गरेन् ।

सीआईबीले जिबी र रवि मुछिएको सहकारीको फाइलहरु मगायो । यद्यपि, दुई महिना बितिसक्दा न जिबी पक्राउ परे न रवि । सीआईबीले मिडिया र सर्वसाधारणको आँखामा धुँलो झोक्ने काम मात्र गर्यो । रवि दोस्रोपटक गृहमन्त्री बनेका हुन् । उनी यसअघि ३२ दिने गृहमन्त्री भएका थिए । तर, दोहोरो नागरिकता र राहदानी प्रकरणमा उनको सबै पद खुस्कियो । सर्वोच्च अदालतले पार्टी सभापतिदेखि सांसद, उपप्रधान र गृहमन्त्रीको पद चट् बनाइदियो । राजनीतिमा प्रवेश गरेदेखि नै विवादमा मुछिएका व्यक्तिलाई गृहमन्त्री दिनु लज्जास्पद छ । आफ्नो स्वार्थका लागि जसलाई पनि सरकारमा ल्याइदिने ? यो त भएन् नि । अहिले सर्वसाधारण नेपाली काँग्रेसले जसरी हुन्छ, प्रचण्डको सरकार ढाल्नुपर्ने धारणा राखिरहेका छन् । एमालेलाई प्रधानमन्त्री दिएर हुन्छ कि अन्य पार्टीलाई, सरकारमा काँग्रेस जानैपर्ने माग उठिरहेको छ । नयाँ गठबन्धन त बन्यो, तर प्रचण्डले विश्वासको मत लिन बाँकी नै छ ।

प्रचण्ड सरकारबाट हटे भने लामिछाने पहिलेजति पनि गृहमन्त्रीको पदमा बस्न पाउँदैनन् । आफूमाथि दाग लागेको छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारमा जान लामिछानेलाई नैतिकताले दिन्छ ? सदनमा कुन सांसदले के बोले ? जनताले अध्ययन गरेका हुन्छन् । सदनमा देखाएका चर्तिकला त जनतालाई स्मरण हुन्छ । केही महिनाअघि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सदनमै माथिको लुगा फुकाले । उनले लुगा फुकाल्नुको कारणचाँहि बोल्न नदिइनु थियो । तर, के बोल्ने ? सांसदहरुलाई थाहा छैन् । उनले गरेको कार्य सस्तो लोकप्रियता कमाउनका निम्ति थियो । सदनमा लामिछानेजस्तो एकपछि अर्को काण्डमा मुछिएको व्यक्ति हुँदा केही नबोल्नेले मैले बोल्न पाइँन् भनेर नौटंकी देखाउनु बेकार छ ।

‘ठग’ को अगाडि सबै सामसुम । यस्ताले जनताको पक्षमा आवाजमा उठाउने ? सुन्दापनि हाँसो लाग्ने । न्याय माग्न आएका लघुवित्त र मीटरब्याज पीडित सदनमा छिर्दा हत्कडी अनि सहकारीको करोडौं ठगीको आरोप लागेको व्यक्तिलाई झण्डावाल गाडी । यही हो देशको कानुन ? यो त सिँधै ‘ठूलालाई चेन र साना ऐन’ भएन् र ? सरकार जनताको लागि कि ‘अपराधी’ हरुको लागि ? जनता सबैतिरबाट ठगिएका छन्, लुटिएका छन् । तर, उनीहरुका लागि सरकार कहाँ छ ? देशका सांसद पनि नैतिकताहीन भए । ‘ठग’ को अगाडि सरकारदेखि सांसदसम्म निरीह ।
सांसद जनताको आवाज उठाउन गएका हुन् । करोडौं जनता सहकारीबाट पीडित भएका छन् । पीडित बनाउने सदनभित्रै छन् । यद्यपि, सांसदहरु चुइक्क आवाज निकाल्दैनन् । यस्ता सांसदको के काम ? बेकारमा राज्यको ढुकुटी सिद्याउने काम मात्र भइरहेको छ । जनताले भोट दिएर सांसद बनेकाहरु नै उनीहरुको पक्षमा बोल्दैनन् भने यो कतिसम्म विडम्बनापूर्ण कुरा हो ?

यस्ता निरीह, लाचारलाई चुनेर पठाएछौं भनेर जनतालाई यतिबेला थकथकी लागिरहेको छ । सांसद त आवाज उठाउन सक्ने खालको हुनुपर्छ । गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ । मर्कामा परेका जनताको आवाज जोडतोडका साथ उठाउनुपर्छ । तर, सांसदहरुसँग बोल्ने पनि आँट छैन् । सर्वसाधारणले सीआईबीको प्रमुखलाई सोध्छन्,‘पुस २५ गते नै गृहमन्त्री नारायणकाजी श्रेष्ठले तपाईंलाई छानबिनका लागि निर्देशन दिएको तर अहिलेसम्म किन छानबिन नगरेको ?’ लामिछानेमाथि छानबिनमा अड्चन बन्ने प्रधानमन्त्री प्रचण्ड नै हुन् । उनलाई आफ्नो सरकार जो टिकाउनु थियो । काँग्रेससँग गठबन्धन छोडेपछि लामिछाने भएनि चाहियो ? त्यसैले उनीमाथि छानबिन नगरिएको प्रष्टै छ । भूपू गृहमन्त्री बालकृष्ण खाँण भुटानी शरणार्थी काण्डमा पक्राउ परेपछि जनताको प्रहरीमाथिको विश्वास झनै बढ्यो । कानुन ठूलालाई पनि लाग्दो रहेछ भन्ने सर्वसाधारणमा परेको थियो ।

सहकारी ठगीको आरोप लागेको व्यक्ति अहिले गृहमन्त्रीको पदमा छन् । गृह मन्त्रालय भनेको प्रहरी संयन्त्र चलाउने सरकारी अड्डा हो । आफू जोगिनका लागि लामिछानेले विगतदेखि नै गृहमन्त्रीको ‘लबिङ्ग’ गरेको सर्वसाधारणले राम्रोसँग बुझेका छन् । गृहमन्त्री भइसकेका उनीमाथि अब सीआईबीले छानबिन गर्छ कि आफ्नो कदम रोक्छ ? हेर्न बाँकी छ । भनिन्छ,‘कानुन सबैलाई बराबरी हो ।’ यो व्यवहारमा पनि लागु हुनुपर्यो । ठूलाले जे गरेपनि आँखा चिम्लेर बस्नचाँहि भएन् । सीआईबीका हरेक पदाधिकारीले जनताले तिरेको करबाट तलबभत्ता खाएका छन्, लुगा लगाएका छन् । उनीहरुले जागिर खाने बेलैमा देश र जनतालाई हित हुने काम गर्छौं भनेर शपथ खाएका हुन्छन् ।
त्यसैले प्रहरी ढग्मगाउनु भएन् । जति नै ठूलो पदमा भएपनि गल्ती गर्नेको हातमा हत्कडी लाग्नैपर्छ । तिनले कानुनबमोजिम सजाय पाउनैपर्छ । जनतालाई धरधरी रुवाएर सत्तामा बस्ने अधिकार कसैलाई पनि छैन् ।

अन्य सहकारी सञ्चालक पक्राउ परिरहँदा लामिछानेलाई किन जोगाएको ? सर्वसाधारणले प्रहरीलाई सोधेको प्रश्न हो यो । पत्रकार शालिकग्राम पुडासैनीको मृत्यु प्रकरणमा मिडियालाई भर्याङ बनाएर र जनतालाई सडकमा उतारेर लामिछाने बचे । सहकारीको काण्डमा मुछिएका उनी गृहमन्त्री भएर उम्किन खोजेका छन् । यही नै हो देशको कानुन ? जहिलेपनि जसको शक्ति उसैको भक्ति हो ? बोल्न सक्ने र पहुँच भएकाले जे गरेपनि हुने अनि बोल्न नसक्ने र पहुँच नभएकाचाँहि गल्तीबिनै जेल जानुपर्ने ? कानुन उनको अगाडि खोस्टो बनेको हो ? यसको जवाफ त सरोकारवाला निकायले दिनुपर्छ ।
अनुसा थापा
भक्तपुर