• गृहपृष्ठ
  • भूमि आयोग ललितपुरको प्रगति विवरण सार्वजनिक

भूमि आयोग ललितपुरको प्रगति विवरण सार्वजनिक

Mar 7th, 2024

ललितपुर फागुन २४
भूमि आयोग ललितपुरले हालसम्म भएका कामको प्रगति विवरण सार्वजनिक गरेको छ। समितिको प्रगति प्रतिवेदन अनुसार जिल्लाका चार स्थानीय तहमा ३८६ जनालाई निस्सा वितरण भएको छ ।

जिल्ला समितिको कार्यालय ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै समितिले हालसम्म स्थानीय तहसँग भएको सम्झौता,लगत सङ्कलन, तथ्यांक प्रविष्टि र निस्सा वितरण भएको सङ्ख्याको विवरण सार्वजनिक गरेको हो। 

भूमिहीन, दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि राष्ट्रिय भूमि आयोगको निर्णय अनुसार भूमि आयोग जिल्ला समिति ललितपुर गठन भएको थियो। २०७८ चैत्र १७ गतेबाट काम सुरु गरेको समितिले ललितपुरका ६ वटा स्थानीय तहमध्ये पाँचवटा स्थानीय तहमा सम्झौता गरी निस्सा वितरणसम्मको कार्य सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख गरेको छ। 
 समितिले सम्झौता गरेका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, वागमती गाउँपालिका,कोन्ज्योसोम गाउँपालिका र महाङ्काल गाउँपालिका भित्र भूमिहीन दलित १०४, भूमिहीन सुकुम्बासी ५४१, अव्यवस्थित बसोबासी २५४७ सहित ३१९५ परिवारको लगत सङ्कलन गरेको थियो। 
गोदावरी नगरपालिका भित्र २९ भूमिहीन दलित,१८७ भूमिहीन सुकुम्बासी परिवारले निस्सा प्राप्त गरेका छन्।
 त्यस्तै, वागमती गाउँपालिकामा २० भूमिहीन दलित, ७४ भूमिहीन सुकुम्बासी परिवारले निस्सा पाए। कोन्ज्योसोम गाउँपालिका भित्र भूमिहीन दलित ४, भूमिहीन सुकुम्बासी ३९ र महाङ्काल गाउँपालिकामा २ भूमिहीन दलित, ३४ भूमिहीन सुकुम्बासी परिवारले निस्सा प्राप्त गरेका छन्।

लगत सङ्कलन भएका परिवारको तथ्याङ्क प्रविष्टि गर्दा गोदावरी नगरपालिकामा ४३०, वागमती गाउँपालिकामा १९९, कोन्ज्योसोम गाउँपालिका ४३, महाङ्काल गाउँपालिकामा ३८ गरी ७१० परिवारको तथ्याङ्क प्रविष्टि भएको समितिका अध्यक्ष श्रीगोविन्द महर्जनले जानकारी दिए।

अध्यक्ष श्रीगोविन्द महर्जनले महालक्ष्मी नगरपालिकामा २०८० मंसिर २९ गते सम्झौता भइ लगत सङ्कलन भइरहेको र ललितपुर महानगरपालिकामा सम्झाैता हुन बाँकी रहेकाे बताए ।