• गृहपृष्ठ
  • सत्ताका भुक्तभोगीहरुलाई देश र जनताको के मतलब !

सत्ताका भुक्तभोगीहरुलाई देश र जनताको के मतलब !

Mar 5th, 2024

काठमाडौं, फागुन २२
२०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । निर्वाचन गराउने शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । राजनीतिक दलहरु गठबन्धन गरेर भोट माग्न जनताको घरदैलो पुगे । जनताले नेपाली काँग्रेसलाई ८९, नेकपा एमालेलाई ७८ र नेकपा माओवादी केन्द्रलाई ३२ सिट दिए । माओवादी काँग्रेसबाट गठबन्धन गरेर जनताको घरदैलोमा गएको थियो । तर, माओवादीलाई जनताले पत्याएनन् । जसले गर्दा ३२ सिटमै माओवादी सीमित रह्यो । चुनावपछि काँग्रेसले माओवादीलाई प्रधानमन्त्री नदिने भन्नेबित्तिकै अध्यक्ष प्रचण्ड एमालेको अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको बार्दलीमा पुगे ।
ओलीले उनलाई प्रधानमन्त्रीमा समर्थन गरे । २०७९ पुस १० गते प्रचण्ड प्रधानमन्त्री भए । प्रधानमन्त्री भएको केही महिनामै उनले एमालेलाई धोका दिए । फागुन १५ गते एमाले सरकारबाट बाहिरियो । काँग्रेस सरकारमा गयो । प्रचण्ड प्रधानमन्त्री भएको १४ महिना भयो । तर, सम्झिनेलायक एउटा पनि काम गरेका छैनन् ।

मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा छ भन्ने कुरा आम सर्वसाधारणलाई राम्रोसँग थाहा छ । अहिले त बैंकहरुमा पनि संकट देखिएको भनि चर्चा चलेको छ । सहकारीको कन्तबिजोर भएको छ भने बचतकर्ताको हरिबिजोग । व्यापार व्यवसाय ठप्प छ । देशमा सानातिनो रोजगारी गरेर बसेकाहरु पनि धमाधम विदेश पलायन भइरहेका छन् । घरजग्गा, शेयर र गाडीको कारोबारमा मन्दी छाएको छ । सटर, कोठा खाली हुने क्रम बढेको छ । वैदेशिक ऋण निरन्तर उकालो लागिरहेको छ । बेरोजगारी दिनहुँ बढिरहेको छ । काम नपाउँदा सर्वसाधारणलाई जीविकोपार्जन गर्न समस्या परेको छ । मँहगीले सर्वसाधारणको ढाड सेकिएको छ । एकातिर आम्दानी छैन्, अर्कोतिर आकाशिएको मँहगी । बिहान खाए, बेलुका के खाने ? भन्ने समस्या छ । प्रचण्डको क्षमता सर्वसाधारणले देखिसकेका छन् । उनीसँग देश चलाउन कुनै योजना नै छैन् । पदको भुक्तभोगी उनी जनताप्रति अलिकति पनि जिम्मेवार छैनन् । २०५२ सालमा जनयुद्द शुरु गर्दाका कमाण्डर र अहिले देशको कमाण्डर उनीबाट केही परिवर्तन होला ? भन्ने जनताको मनमा परेको छ ।

जनता उनलाई प्रधानमन्त्री पदबाट हटाउनुपर्ने भनिरहेका छन् । आफूले काम गर्न नसकेपछि उनले नयाँ योजना बुनेका छन् । मन्त्रीहरुको टाउकोमा दोष थुपारेर उनी पन्छिएका छन् । काँग्रेससँग गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गएर जोडिएका छन् । अबका पनि प्रधानमन्त्री उनी नै हुन् । जबकी सर्वसाधारण उनीप्रति सन्तुष्ट छैनन् । जनताले उनलाई प्रधानमन्त्रीमा हटाउनुपर्ने बताउँदै गर्दा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उनलाई प्रधानमन्त्रीमा समर्थन गरिरहेका छन् । अहिले देशमा के भइरहेको छ ? जनताले के खोजिरहेका छन् ? भन्ने तिनलाई थाहा छैन् ? कहिले यता टाँसिने, कहिले उता टाँसिने अनि जसरी हुन्छ प्रधानमन्त्री बनिरहने प्रचण्डको दाउ हो । प्रचण्डकै पछाडि लाग्दा माओवादीको पत्तासाफ हुने देखिएको छ । यस्तै पारा रह्यो भने माओवादीलाई अर्को चुनावमा धाउधाउ छ । ओली र रवि लामिछाने केही दिनअघिसम्म मिसनमा थिए । २०८४ सालको चुनावमा आफ्नो पार्टी पहिलो बन्ने भन्दै उनीहरु गाउँगाउँ गएका थिए । सरकारमा नजाने भन्दै आएका लामिछानेलाई अहिले भागदौड गरेर भ्याइनभ्याइ भएको छ । नयाँ गठबन्धन बन्दा सबैभन्दा धेरै खुसी उनी नै छन् । उनले छेपारोभन्दा छिटो रंग फेर्दो रहेछन् भन्ने त स्पष्ट भइहाल्यो ।

लामिछानेमाथि यतिबेला सिआईबीले अनुसन्धान गरिरहेको छ । जीबी राईसँग मिलेर बचतकर्ताको बिल्लीबाठ बनाएको आरोप उनीमाथि लागेको छ । सहकारी काण्डमा आफू बच्नका लागि लामिछानेलाई सरकारमा जान हतारो भएको जनताले थाहा पाइसकेका छन् । एमाले पनि जनताबाट खच्किँदै गएको छ । ओलीको दाहिने हात महेश बस्नेत केटी काण्डमा मुछिएका छन् । अन्य नेतामाथि पनि यस्तै आरोप लागेको छ । एमाले प्रत्येक दिन नङ्गिँदै छ । सबैतिरबाट बद्नाम पार्टी सरकारमा गएको छ । पार्टीहरुको काण्ड राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा छताछुल्ल छ । सबै पार्टी मिलाएर बल्लतल्ल सरकार बनेको छ ।
यस्तो पार्टीलाई कसले पत्याउने ? यहाँ जनताले तिरेको करबाट सरकारी खर्च धान्न नसक्ने अवस्था बनेको छ । राजश्व उठ्न कम भइसकेको छ । विदेशी ऋण लिएर खर्च धानिएको छ । अब विदेशीले ऋण पनि पत्याउँदैन्, अनुदान पनि दिँदैनन् । कतिपय स्थानीय तहका कर्मचारीहरु तलब पाएका छैनन् ।

ज्येष्ठ नागरिक, एकल महिलाहरुले पनि भत्ता नपाएको भनि बजारमा गाइँगुइ चलेको छ । मालपोत र यातायात कार्यालय सुनशान छ । घरजग्गा कारोबार ठप्पजस्तै छ । जहिले पनि भीडभाड हुने यातायात कार्यालय अहिले चनमन्न छ । पाँच सय र हजारको नोट व्यक्तिहरुले घरमा लुकाइसकेका छन् । नेपालमा व्यापार गर्ने माडेहरुले पैसा आफ्नो देशमा लगिसके । देश कुन अवस्थाबाट गुज्रिरहेको छ ? सरकारमा जानेहरुलाई थाहा छैन् । जसरी हुन्छ, सरकारमा जाने अनि खाइरहने । जनताप्रति कुनै राजनीतिक दल जवाफदेही छैनन् । एउटा सफा टेम्पो चलाउने क्षमता नभएकालाई देश चलाउने जिम्मा दिएपछि यस्तो अवस्था बन्नु स्वाभाविकै हो । जनताले तिरेको करले विदेशी ऋणको साँवाब्याज तिर्न पुग्दैन् । स्थानीयदेखि संघसम्मका जनप्रतिनिधि, बहालवाला सरकारी कर्मचारी, भूपू कर्मचारीलाई तलबभत्ता र पेन्सन दिनैपर्यो । ज्येष्ठ नागरिक, एकल महिलाहरुलाई दिने भत्ता छुट्टै छ । स्रोत केही पनि छैन्, खर्च बढेको बढ्यै ।

खर्च कसरी धान्ने ? भन्ने योजना सरकारमा बस्नेहरुसँग छैन् । सरकारले पाँच वटा क्षेत्रबाट ठूलो राजश्व संकलन गथ्र्यो । पहिलोः रेमिट्यान्स, दोस्रोः भन्सार, तेस्रोः घरजग्गा, चौथों यातायात, पाँचौंः शेयर । विदेशी रेमिट्यान्स आइरहेको छ तर अन्य क्षेत्रमा पूरै मन्दी छ । यहाँबाट उठ्ने राजश्व ह्वात्तै घटेको छ । अब जनता झनझन् आक्रोशित हुँदै जान्छन् । किन कि प्रचण्डलाई देश र जनताको माया छैन्, प्रधानमन्त्री पद बचाउन सक्छु कि सक्दिन ? यति मात्र छ । ओली आफैं बिरामी छन् । सदनमा उभिन नसक्दा कुर्सीमा बसेर भाषण गर्नुपर्छ । लामिछाने सर्वत्र काण्डले घेरिएका छन् । उनीमाथि एकपछि अर्को काण्ड लाग्छ, त्यही सल्टाउँदै ठिक्क हुन्छ । प्रचण्ड आफैंलाई पारिवारिक तनाव छ । अनि यस्ता व्यक्तिले अबपनि हामी केही गर्छौं भनेर कतिञ्जेल जनतालाई भ्रमित बनाउने ? प्रचण्डले अति गरेका छन्, यसले खति निम्त्याउन सक्छ । अरुलाई पनि पद नदिने, आफू पनि काम नगर्ने ।

माओवादीले पहिल्यैदेखि आचरणः धम्काउने, तर्साउने, थर्काउने अनि केही भएन् भने सम्झौता गर्ने । भूमिगतको पालाको बानी व्यवहार माओवादीले अहिले पनि छोड्न सकेको छैन् । २०६४ सालको चुनावमा १२१ क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेको पार्टी अहिले कुन अवस्थामा छ ? सबैले मूल्याङ्कन गरेका छन् । माओवादी ‘घर न घाट’ को अवस्थामा छ । त्यो के कारणले भएको हो ? भन्ने त सबैले बुझेका छन् । हिजो त्यत्रो जनयुद्धको नेतृत्व गरेका व्यक्तिले आज केही गर्न सकेका छैनन् । उनी नै प्रधानमन्त्री भएको बेला देश नाजुक अवस्थाबाट गुज्रिरहेको छ । माओवादीलाई मान्छेको ज्यानसँग कुनै मतलब छैन् । हिजो माओवादीले गरेको ज्यादतीले पनि देखिसकेको छ । त्यही पार्टीका हर्ताकर्ता सरकारमा छन् । अनि तिनलाई के देश र जनताको माया ? काँग्रेस र एमाले माओवादीलाई देख्नै हुँदैनथ्यो । त्यही पार्टीसँग काँग्रेस र एमाले दुवैले सम्झौता गरेका छन् । यस्ता पार्टीमाथि जनताले कसरी विश्वास गर्ने ? यिनीहरुलाई कुर्सीमा राख्नु देश बर्बाद बनाउनु हो ।
अनुसा थापा
भक्तपुर