• गृहपृष्ठ
  • व्यापार–व्यवसाय गर्ने नाममा अस्तव्यस्त बन्दै उपत्यका, स्थानीय बासिन्दाहरुले पनि अब चाँहि केही गर्ने कि ?

व्यापार–व्यवसाय गर्ने नाममा अस्तव्यस्त बन्दै उपत्यका, स्थानीय बासिन्दाहरुले पनि अब चाँहि केही गर्ने कि ?

Mar 4th, 2024

काठमाडौं, फागुन २१

राजधानीको कालीमाटी र बल्खुमा तरकारी तथा फलफूल बजार छ । तीनकुने, धुम्बाराही लगायत उपत्यकाका विभिन्न ठाउँमा पनि तरकारी तथा फलफूल बजार छन् । कालीमाटी र बल्खुमा मुलुकभरका तरकारी तथा फलफूल आउँछन् । भारतलगायत विभिन्न देशबाट पनि यहाँ तरकारी तथा फलफूल आउँछन् । कलंकी र टुकुचामा पनि खसी तथा तरकारी बजार उत्तिकै छन् । यस्ता बजारहरु व्यस्त ठाउँमा सञ्चालन गर्न दिइँदा एकातिर ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको छ, अर्कोतिर फोहोर बढेको छ । सहर अस्तव्यस्त बनेको छ । कलंकी, कालीमाटी, बल्खुलगायत विभिन्न ठाउँका स्थानीयबासीहरु अहिले बजार हटाउनुपर्ने माग गर्दै वडा र नगरपालिकामा उजुरी दिइरहेका छन् । बजारका कारण आफुहरुले विभिन्न समस्या भोग्नुपर्ने र फोहोर पनि बढ्दै जाँदा स्वास्थ्यमा नकारात्मक असर परेको उनीहरु बताउँछन् ।

तर, वडा कार्यालय, नगरपालिका वा महानगरपालिकाले भने बजार हटाउन चासो दिएका छैनन् । तरकारी तथा फलफूल बजारमा देशविदेशबाट तरकारी, फलफूललगायत विभिन्न सामान आउँछन् । यसले उक्त क्षेत्रमा सर्वसाधारण घण्टौंसम्म ट्राफिक जाममा बस्नुपर्छ । सहरको बीचमा यस्तो व्यापार गर्न दिँदा सहरको सुन्दरतामा समेत गिरावट आएको छ । यहाँ सबै राजनीतिक दलका कार्यकर्ताहरुले व्यापार गरेका छन् । पार्टीको आडमा व्यापार गरेर सर्वसाधारणलाई दुःख दिइरहेका छन् । सहर फोहोर बनाएका छन् । ट्राफिक जाम, प्रदूषण र दुर्घटना गराइरहेका छन् । उनीहरु आफु कमाउँछन् अनि दुःख, कष्ट चाँहि सर्वसाधारण जनताले भोग्नुपर्छ । अहिले गाेंगबु र जडीबुटीका स्थानीयहरु पनि बसपार्क हटाउनुपर्ने माग गरिरहेका छन् । बसपार्कका लागि ट्राफिक जाम अस्तव्यस्त भएको, दुर्घटना निम्तिएको र आफुहरुले समेत विभिन्न समस्या भोग्नुपर्ने उनीहरुको भनाई छ । व्यापार र व्यवसायी गर्ने नाममा राजधानी अस्तव्यस्त बनिसकेको छ ।

सीमित व्यक्ति, व्यापारीहरुले आफ्नो स्वार्थको बारेमा मात्र सोचिरहेका छन् । जनता अहिले पेट्रोल पम्प, ग्याँस डिम्पो, वर्क शप, अटो शोरुम, हार्डवेयर, डण्डी, सिमेन्टलगायत विभिन्न पसल तथा गोदामहरु उपत्यकाबाट हटाउनुपर्ने माग गरिरहेका छन् । त्यस्तै, दोहोरी साँझ, पार्टी प्यालेन्स, ड्राइभिङ सेन्टर पनि उपत्यकाबाट बाहिर सार्नुपर्नेमाग भइरहेको छ । राजधानीलाई सुन्दर, स्वच्छ, सफासँगै ट्राफिक जाममुक्त बनाउन काठमाडौं महानगरपालिका र वडाहरुले यस्ता व्यवसायीहरु उपत्यकाबाहिर सार्नुपर्छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवन (संसद भवन) अगाडि नै वरपर थुप्रै माछा पसल छन् । त्यहाँ माछा ल्याउँदा ट्राफिक जाम हुने गरेको छ । अर्कोतर्फ माछाको पानी बाटैभरि फ्रयालिन्छ । र, गन्हाएर हिँड्ने हुदैंन । यद्यपि, यसतर्फ वडा वा महानगरले ध्यान भने गएको छैन । सांसददेखि मन्त्री, प्रधानमन्त्रीसम्म हिँड्ने त्यो बाटोको हालत हेरिनसक्नु छ । ट्राफिक महाशाखा, वडा कार्यालय र महानगरले अब ट्राफिक जाम र दुर्घटना न्यूनीकरणका लागि कुन र कस्ता व्यवसाय उपत्यकाभित्र सञ्चालन गर्न दिने भनेर अध्ययन गर्नुपर्छ ।

यस्तै, मिनपावर र कन्सलट्रेन्सीहरु पनि उपत्यकाबाट बाहिर सार्नुपर्छ । महानगरले पार्किङ नभएको घरलाई भाडामा दिन पनि रोक लगाउनुपर्छ । अहिले घरधनीहरु डेराबहालसँग चर्को भाडा असुल्छन् । तर, पार्किङको व्यवस्थापन गर्दैनन् । यसले गर्दा अधिंकाशले आफ्नो सवारीसाधन बाटोमा पार्किङ गर्ने गरेका छन् । बाटोमा सवारीसाधन पार्किङ गरिदिँदा एकातिर पैदलयात्रु मारमा परेका छन्, अर्कोतिर दुर्घटनाको जोखिम बढेको छ । त्यसकारण अब पार्किङ नभएको घरलाई कोठा वा घर भाडामा दिन पनि महानगरले रोक लगाउनुपर्छ । पार्किङको व्यवस्थापन गरेपछि मात्र घर भाडामा लगाउन पाइने नियम बनाउनुपर्छ । कतिपय व्यापारीहरु राँगा, भैंसी काट्छन् । अनि त्यसको फोहोर बाटोमा ल्याएर फ्रयाल्छन् । कतिपय त बाटोमै राँगा, भैंसी काट्छन् । यसले गर्दा वातावरणसँगै मानवीय स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर परेको छ । मानिसहरुमा विभिन्न प्रकारका रोग देखा परेका छन् । वातारण पनि प्रदूषित भएको छ ।

आफ्नो वडाभित्र कसले के व्यापार वा व्यवसाय गरिरहेको छ ?, उसले व्यवसाय दर्ता गरेको छ कि छैन ?, राज्यको नीति, नियम पालना गरेको छ वा छैन ? र राज्यलाई कर तिरेको छ कि छैन ? भनेर वडाध्यक्षलाई थाहै हुदैंन । वर्क शप व्यवसायीहरुले बाटोमै सवारीसाधन बनाइरहेका छन् । बाटोमै मोबिल फ्रल्यालिदिन्छन् । सवारीसाधन सफा गर्छन्, त्यो पनि बाटोमै । सहरलाई सुन्दर र व्यवस्थित बनाउनु संघ, प्रदेश र स्थानीय सरकारकै दायित्व हो । विदेशीहरु उपत्यकाका विभिन्न ठाउँमा घुमफिर गर्न आउँछन् । विडम्बना, ती ठाउँको हालत देख्दा कोही पनि फेरि आउन रुचाउँदैन । आफ्नो घरअगाडिको बाटो सफा गर्ने वा राख्ने घरधनीहरुको पनि कर्तव्य हो । तर, हाम्रोमा त घरअगाडिको बाटो सफा गर्नु त परको कुरा हो, उल्टै घरको फोहोर चाँहि झप्याल वा छतबाट बाटोमा फ्रयालिन्छ ।
सडककै छेउछाउमा रोडा, ढुंगा, बालुवा, गिट्टी व्यवसाय सञ्चालन गरिएको छ । जसले ट्राफिक जाम बढिरहेको छ । तर, यो हटाउन पनि कसैले चासो दिएको छैन । अहिले कतिपय ठाउँका स्थानीयले आफ्नो बस्तीबाट कबाडी हटाउन वडामा उजुरी दिँदा समेत वडा वा महानगरले मतलब नगरेको बताइन्छ ।

राजधानी अस्तव्यस्त बनेको छ । आकाशे पुलमा समेत मानिसहरुले व्यापार गरिरहेका छन् । माग्ने मान्छे पनि उत्तिकै भेटिन्छन् । जेब्राक्रस पनि नदेखिने छन् । फेरि त्यस्तै ठाउँमा पुलको पनि अभाव छ । यसले सर्वसाधारणलाई बाटो काट्न महाभारत हुने गरेको छ । सवारीसाधन दुर्घटनाबाट मात्र दिनमा एक दर्जनभन्दा बढीको निधन हुने गरेको छ । कसरी दुर्घटना न्यूनीकरण गर्ने ?, ट्राफिक जाम हटाउने ? र सहरलाई कसरी सुन्दर, सफा र स्वच्छ बनाउनेतर्फ सरकारले ध्यान दिएको छैन । उपत्यकामा काठमाडौं, ललितपुर भक्तपुर पर्छन् । काठमाडौंका मेयर र नगर प्रहरीले काम गर्न खोज्दा पनि राजनीतिक दलहरुले दिएका छैनन् । ललितपुर र भक्तपुरका मेयर र नगर प्रहरी त कामै गर्न खोज्दैनन् ।

ललितपुर र भक्तपुरमा न फुटपाथ व्यवसायी हटेका छन् न यहाँको सरकारी, सार्वजनिक जग्गाको खोजतलास गरिएको छ । उपत्यका ट्राफिक जाम, फोहोर र प्रदूषणले बस्न सकिदैंन भनेर मुलुकभरका जनताले थाहा पाइसकेका छन् । यतिमात्र नभई अहिले त विदेशीहरु समेत यसबारे जानकार छन् । चिरीबाबु महर्जन दुई पटक ललितपुरको मेयरमा निर्वाचित भए । पहिलो कार्यकालमा केही गरेपनि दोस्रो कार्यकालमा उनले सिन्को समेच भाँचेका छैनन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पनि यो दोस्रो कार्यकाल हो । यद्यपि, उनले अहिलेसम्म सिन्को भाँचेका छैनन् । उता, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले पनि दोस्रो कार्यकालमा केही गरेका छैनन् । राजनीतिक दलबाट चुनाव जितेका वडाध्यक्ष र मेयरहरुले केही गर्दैनन् भनेर जनता स्पष्ट भइरहेका छन् । तर, राजनीतिक दलहरु अझै पनि जनता भड्काउनतिर लागिपरेका छन् । आफ्ना कार्यकर्तालाई सडकमा उतारेर काम गर्नेप्रति खनिएका छन् । उनीहरु आफुले त जनता र राष्ट्रको लागि काम गरेनन् र अहिले काम गर्न खोज्नेलाई समेत असफल बनाउन खोजिरहेका छन् । यीनीहरु कहिल्यै सुध्रिने भए ।

सहरलाई सफा, सुन्दर र स्वच्छ बनाउन अब उपत्यकाबासी पनि एक जुट हुनुपर्छ । काम नगर्नेको विरोध गर्नुपर्छ र काम गर्नेलाई साथ, सहयोग दिन सडकमा ओर्लिनुपर्छ । सरकारले पनि जनताको हितका लागि काम गर्नुपर्छ । सहरलाई अस्तव्यस्त र प्रदूषित बनाउने व्यवसाय उपत्यकाबाट बाहिर सार्नुपर्छ । यो काम गर्न अब ढिलो गर्नुहुन्न ।
रुषा थापा
भक्तपुर