कृषि सहकारी समस्याग्रस्त घोषित

Feb 15th, 2024

ललितपुर, फागुन ३

ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ ।

संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट माघ २६ गते समस्याग्रस्त घोषणा गरिएकाे हो । यस संस्थाले लामो समयदेखि बचत फिर्ता गर्न सकेको थिएन । संस्थाका सञ्चालकहरुले संघीय सहकारी विभाग समक्ष बचत फिर्ता गराउने प्रतिवद्धता जनाएका थिए । तर, प्रतिवद्धता अनुसार संस्था बचत फिर्ता नगराएपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । 

संघीय सहकारी विभागमा संस्थाका २८८ जना बचतकर्ताहरुले २६ करोड ८८ लाख बराबरको बचत फिर्ताको मागदावीसहित सहकारी विभागमा निवेदन दिएका थिए ।

उक्त निवेदनपछि सहकारी विभागले विभागबाट स्थलगत अनुगमन र निरीक्षण समेत गरेको थियो । निरीक्षणमा संस्थाका अध्यक्ष, सञ्चालक, विभिन्न व्यक्तिहरु तथा कम्पनीहरुको नामबाट अपारदर्शी रुपमा बचतकर्ताको रकम लगानी गरेको, बचत उठाएर निजी स्वार्थ रहेको अस्पताल र अन्य कम्पनी एवं प्रयोजनमा लगानी गरेको, समयमा ऋण लगानीको सावाँ र ब्याज उठाउन नसकेको, ऋण हानी कोषमा नियमानुसार रकम जम्मा नगरेको, संस्थामा तरलता प्राय सून्य अवस्थामा रहेको पाएको थियो ।