• गृहपृष्ठ
  • “महालक्ष्मी महाेत्सव” फागुन ५ देखि ७ गते सम्म

“महालक्ष्मी महाेत्सव” फागुन ५ देखि ७ गते सम्म

Feb 13th, 2024

ललितपुर, फागुन १

महालक्ष्मी नगरपालिकामा महालक्ष्मी महाेत्वस हुँदै छ ।
यहि आउँदो फागुन ५, ६ र ७ गते महोत्सव हुने भएको छ । “महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा उद्योग पर्यटन र व्यापार” भन्ने मुल नाराका साथमा महालक्ष्मी महोत्सव मनाउन लागेको हो ।

नगरको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक तान्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नगरप्रमुख हरिगोबिन्द श्रेष्ठका अनुसार ३ दिनसम्म चल्ने महोत्सवमा नगरभित्रका विभिन्न धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरुमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् भने यसलाई सम्पन्न गर्न नगरसभाले ५० लाख रुपैयाँ बजेटसमेत बिनियोजन गरेको छ ।

नगरप्रमुख श्रेष्ठले महोत्सव अवधिभर नगरपालिकाभित्र रहेका ६१ वटै सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ७, ८, ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सिकाईको रुपमा सहभागी गराईने बताए ।

महोत्सवलाई सफल पार्न नगरपालिकाले वडाअध्यक्षहरुको संयोजकत्वमा विभिन्न ९ वटा उपसमिति गठन गरेर काम गरिरहेको उनको भनाइ छ । महोत्सवमा स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गरी आन्तरिक रोजगारी प्रर्वद्धन गर्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्धन तथा प्रचारप्रसार मार्फत नगरपालिकाको राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा विशिष्ट पहिचान स्थापित गर्दै नगरक्षेत्रको आर्थिक गतिविधिलाई समेत गतिशील बनाई मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगर उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिइन् । 

आगामी फागुन ५ गते वडा नं ८ लुभुस्थित महालक्ष्मी मन्दिर परिसरमा नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नगरपालिकाले जानकारी दिएको छ ।