• गृहपृष्ठ
  • तेल्पारामा पाँच वर्ष सम्म बलेन बत्ती, विद्यार्थी मारमा

तेल्पारामा पाँच वर्ष सम्म बलेन बत्ती, विद्यार्थी मारमा

Feb 11th, 2024

काठमाडौं, माघ २८

डोटीको सायल गाउँपालिका-१ तेल्पारामा पोल गाडेको लामो समयसम्म बत्ती बलेको छैन । यहाँका नागरिक पोल गाडेपछि विद्युत् पुग्ने आशामा बसेको पनि पाँच वर्ष बितिसकेको छ । विद्युत् सेवाबाट वञ्चित हुँदा यहाँका नागरिक कष्टकर जीवन जिउन बाध्य छ । घरमा बिजुलीको पहुँच नहुँदा विद्यार्थीलाई दैनिकी गृहकार्य गर्न समयमा हुने गरेको छ ।

भौगोलिक हिसाबले बिकट यो ठाउँमा विद्यालय टाढा हुँदा बिहान सबेरै जानुपर्ने र साँझ घर फर्किँदासम्म राति पर्ने भएका गृहकार्य गर्न समस्या हुने गरेको विद्यार्थीको भनाइ छ । कालिका सरस्वती आधारभूत विद्यालय कौराडीमा कक्षा ७ मा अध्ययनरत नारु बोहराले घरमा गृहकार्य गर्न नपाउँदा विद्यालयमा शिक्षकको पिटाइ खानुपरेको बताइन् ।

यसै कारणले पढाइमा ध्यान नजाने भएकाले दुई तीन पटक पढाइ छोड्ने प्रस्ताव परिवारमा राखेको उनले बताइन् । यो गाउँमा ४० घर धुरीभन्दाबढी परिवारको बसोबास छ । यहाँका धेरै जसोले ५/६ कक्षामै विद्यालय छोड्ने गरेका छन् । पढाइ छोडेकाहरू पढाइ छोड्नुको एक कारण विद्युतको पहुँच नहुनु रहेको बताउँछन् । तेल्पाराका प्रायः विद्यार्थी तुलनात्मक रूपमा कमजोर रहेको कालिका सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक धन बहादुर देउवाले बताए ।

बिजुली आउने आशामा चैतको घाममा दुख कष्ट नभनी पोल गाडेको भए पनि पाँच वर्ष सम्म बिजुली नआउनु दुखद रहेको स्थानीय बहादुर बोहराले बताए । सरोकारवाला निकायहरूको बेवास्ताका कारण आफूहरू अन्धकारमा बस्न बाध्य भएको उनको आरोप छ ।

यता वडा अध्यक्ष लाल बहादुर रोकायाले वडाभित्रका बत्ती नपुगेका टोलहरूमा नेपाल विधुत प्राधिकरणले सर्भे गरी यो महिना भित्र नै काम सुरु गर्ने जानकारी दिए । अब छिट्टै काम सुरु गराएर असार महिनासम्म सबै टोलबस्तीहरुमा बत्ती बाल्ने योजना रहेको उनको भनाइ छ ।