• गृहपृष्ठ
  • सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ

सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ

Feb 8th, 2024

२९औँ संस्करणको क्यान इन्फोटेक राजधानीमा सुरु

काठमाडौं, माघ २५

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा बिहीवारदेखि क्यान इन्फोटेक २०२४ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो २९औं संस्करण हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल एपको प्रयोगमार्फत क्यान इन्फोटेको
औपचारिक उद्घाटन गरिन् ।


समारोहमा बोल्दै मन्त्री शर्माले क्यान इन्फोटेकको भव्य सफलताको शुभकामना दिँदै सरकारको तर्फबाट सधैं
साथ रहने बताइन् । सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग
सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘‘सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग
साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ’’ मन्त्री शर्माले भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग आग्रह गर्दछु ।’’ 

सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउँदै मन्त्री शर्माले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वायनमा ल्याइएको र डेटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानूनको तयारी भइरहेको जानकारी दिइन्
। उनले नेपाल सरकारले आयोजना गर्ने डिजिटल च्याम्पियन कार्यक्रममा निजी क्षेत्रको तर्फबाट क्यान महासंघसँग सहकार्य गर्ने पनि बताइन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रा लि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा लि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।

प्रदर्शनीस्थल भृकुटीमण्डपमा रहेका सम्पूर्ण हल तथा परिसरका सुविधायुक्त ट्रसमा अन्तर्राष्ट्रिय स्तरमा प्रचलित नेपालमा उपलब्ध अधिकांश ब्रान्डका साथै सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरू फिन्टेक, इन्टरनेट तथा दूरसञ्चार सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, डिलर र डिस्ट्रिब्युटर्स, आईटी कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्स, स्टार्टअप र इनोभेसनका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनी, अफिसियलहरू, प्रायोजकहरू र फुड कोर्टसमेत गरी १५० वटा स्टल रहेका छन् ।  क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपाली नवप्रवर्तन, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा क्रियाशील उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गर्न निःशुल्क स्टलको व्यवस्था गरिएको बताए । क्यान इन्फोटेकको अवलोकनका लागि सर्वसाधारणका लागि रू. १०० र विद्यार्थीका लागि रू. ५० शुल्क तोकिएको छ ।