गगनकाे ‘गगनाँसु’ लोकार्पण

Feb 4th, 2024

काठमाडौं माघ २१

सिद्ध नारायण आचार्य (गगन चुम्बन) को दोस्रो गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण भएको छ ।

हातेमालो साहित्य सङ्गमको आयोजनामा शनिबार उक्त कृतिको लोकार्पण प्रा.डा. कृष्ण हरि बराल तथा समीक्षक भूवन निस्तेज एवं गजलकार बाबु त्रिपाठीका साथै निराजन आचार्य र स्रष्टाले सामुहिक रूपमा गरेका हुन् ।

सो कार्यक्रमका प्रमुख अतिथि तथा समीक्षक भूवन निस्तेजले गजलको इतिहासलाई औँल्याउँदै चुम्बनको गगनाँसु एक ऐतिहासिक गजलसङ्ग्रह भएको भनाइ राखे ।

यस्तै, समीक्षक आदर्शले सो गजलसङ्ग्रह स्वच्छन्दतावादी काव्यात्मक धारलाई समावेश गर्दै प्रतिकात्मक एवं परिष्कृत धारमा रचिएको बताउँदै उक्त कृति निकै शक्तिशाली रहेको मत व्यक्त गरे ।

गजलकार बाबु त्रिपाठीले आफूले दशक लामो समय गजलका लागि देश दौडाह गरिरहँदा सो कृति अहिलेसम्म प्रकाशित गजलसङ्ग्रहमध्येको एक उत्कृष्ट पुस्तक भएको जानकारी गराउँदै गजल पारखीहरूले अध्ययन गर्न आवश्यक रहेको जिकिर गरे ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.बरालले गगन चुम्बनको गगनाँसु शास्त्रीय हिसाबलेसमेत आजसम्मकै नमूना गजलसङ्ग्रह रहेको सुनाउँदै सो कृतिले हरेक पाठकका मनलाई स्पर्श गर्ने दाबी गरे ।