• गृहपृष्ठ
  • भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपाल १०८ औँ स्थानमा

भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपाल १०८ औँ स्थानमा

Jan 30th, 2024

काठमाडौं माघ १६
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १ सय ८ औँ स्थानमा परेको छ । आज सार्वजनिक गरेको सन् २०२३ को विश्वव्यापी भ्रष्टाचारको सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १ सय ८ औँ स्थानमा रहेको हो । सन् २०२२ मा नेपाल ३४ अङ्कसहित १ सय १० औँ स्थानमा थियो । १ सय ८० वटा देश सहभागी यो सूचकाङ्कमा १ सय नम्बर पाउने देश अति स्वच्छ र शून्य नम्बर पाउने देश अति भ्रष्ट हुन्छ ।भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालले दुई स्थान सुधार गरेको छ ।

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानले ६८ अङ्क पाएर २६ औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान परेको छ । अफगानिस्तानले २० अङ्क पाएर १६२ औँ स्थान प्राप्त गरेको छ ।

टीआई नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार डेनमार्क ९० अङ्क सहित कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा रुपमा परेको छ ।

ष्टाचारविरुद्धको जनचाहना सम्बोधन गर्न सरकार अति गम्भीर हुन जरुरी रहेको ट्रान्सपरेन्सीले जनाएको छ । यसका लागि संसदमा विचाराधीन रहेका भ्रष्टाचारविरोधी कानुनलाई फितलो बनाउन भएका प्रयास रोक्न, राजनीतिक व्यक्तिलाई पनि भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान र कारबाही गर्न, सार्वजनिक पदाधिकारीको सम्पत्तिको जाँच गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न र मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न ट्रान्सपरेन्सीले नेपाल सरकारसँग माग गरेको छ ।

टीआई नेपालकी अध्यक्ष पद्यिनी प्रधानाङंले मुलुकमा सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार तथा अधिकारको दुरुपयोग एवं र पदाधिकारी माथी कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेको बताइन् ।