• गृहपृष्ठ
  • आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना कार्यशाला हुँदै

आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना कार्यशाला हुँदै

Jan 17th, 2024

काठमाडौं, माघ ३

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँले आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्ने विषयमा दुई दिने विशेष कार्यशाला गर्ने भएको छ । माघ ४ र ५ गते कार्यशाला हुन लागेको प्रतिष्ठानले जनाएको छ ।

कार्यशालाको पहिलो दिन माघ ४ गते अर्बिटल फ्र्याक्चर पुनस्थापना कार्यशाला सञ्चालन हुनेछ । जसमा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरू र म्याक्सिलोफेसियल सर्जनहरू समेटिने गरी करिब १०० जना सहभागी हुने प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सन् २००४ देखी प्रतिष्ठानले प्रा.डा. रोहित सैजुद्वारा आँखा र वरपरको हड्डी भाँचिएको समस्याको उपचार सेवा प्रदान गर्दै आइरहेको छ । सर्जरी सेवामा विगतमा एक्सरे प्लेटहरुको प्रयोग हुने गरेकोमा पछिल्लो समय सिलिकन पानाको प्रयोग गर्न थालिएको थियो ।

‘नेसनल युनिभर्सिटी हस्पिटल, सिंगापुरका प्रसिद्ध ओकुलोफेसियल सर्जन डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापित, म्याग्जीलोफेसियल सर्जन प्रा.डा. आलोक सग्तानी, वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा.डा. रोहित सैजुको टोलीले पहिलो पटक आयोजना हुँदै गरेको अर्बिटल फ्र्याक्चर पुर्नस्थापना कार्यशाला सञ्चालन गर्नु हुनेछ’, विज्ञप्तिमा भनिएको छ । 

कार्यक्रमको दोस्रो दिन माघ ५ गते आँखामा थाइरोइड रोगले पार्ने असरहरू र चुनौतीपूर्ण केसहरूमा छलफल हुनेछ । पछिल्लो समय थाइरोइडको समस्या भएका मानिसहरू बढ्दै गएको र यसले आँखामा पनि प्रभाव पारिरहेको विशेषज्ञहरूले बताएका छन् । दोस्रो दिनको सत्रमा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र हर्मोन रोग विशेषज्ञ सहभागी हुने बताइएको छ ।

पछिल्लो समय सडक तथा अन्य दुर्घटनाका कारणले गर्दा आँखामा लाग्ने चोट र असरहरूका विषयमा सबैको ध्यान गएको छ । ती मध्ये, आँखा वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्नु एक जटिल र कठिन शल्यक्रिया मानिन्छ ।