• गृहपृष्ठ
  • मिडियामा विज्ञापन देखिएन तर एनआइसी एशियाले खर्च गर्यो रु. २५ करोड

मिडियामा विज्ञापन देखिएन तर एनआइसी एशियाले खर्च गर्यो रु. २५ करोड

Jan 17th, 2024

काठमाडौं, माघ ३

एनआइसी बैंक लिमिटेडले विज्ञापनमा वर्ष दिनमै २५ करोड रुपैयाँभन्दा बढी रकम खर्चिएको छ। नेपाल राष्ट्र बैंकले तयार पारेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमध्ये विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा एनआइसी एशिया बैंकको खर्च सबैभन्दा अधिक छ।

राष्ट्र बैंकका अनुसार एनआइसी एशियले गत आर्थिक वर्ष २०७९।८० मा २५ करोड ११ लाख ५८ हजार ३५० रुपैयाँ खर्चिएको छ । यो रकम वाणिज्य बैंकहरुले खर्चिएको कूल रकमको १९ प्रतिशत हो। गत आर्थिक वर्षमा एनआइसी एशियाले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विज्ञापन शिर्षकमा खर्चिएको रकम यसको खुद नाफाको ५‍.३७ प्रतिशत हुन आउँछ।

एनआइसी एशिया बैंकले विज्ञापन तथा प्रचार प्रसार शीर्षकमा यति ठूलो रकम खर्चिए पनि गत आर्थिक वर्षमा आम सञ्चारमाध्यमहरुमा एनआइसी एशियाको विज्ञापन नदारदको अवस्था रह्यो । सर्वसाधारणलाई सूचित गर्नका लागि आम सञ्चारमाध्यमको भूमिकालाई उपेक्षा गर्न नसकिने भएपनि आम सञ्चारमाध्यममा विज्ञापन प्रकाशन प्रशारण नै नगरी एनआइसी एशियाले यति ठूलो रकम सिद्ध्याएको छ। 

एनआइसी एशियाले विज्ञापन शीर्षकमा खर्चिएको रकम र आम सञ्चार माध्यममा एनआइसी एशियाको विज्ञापन मूलक सामाग्रीको उपस्थितिले खर्च शंकास्पद देखिएको छ।

एनआइसी एशियासँग यसका ऋणीहरु सबैभन्दा बढी पीडित छन् । ऋणीले निश्चित अवधिका लागि ऋण लिई सकेपछि ऋण सम्झौता अवधि पुरा नहुँदै ऋण सम्झौता पुनरावलोकन गर्ने र ब्याज दर वृद्धि गरेर ऋणीको ढाड सेक्ने गरेको छ। यसबाहेक आवधिक कर्जा(टर्म लोन) का लागि आवेदन दिने ऋणीलाई जबरजस्ती ओभर ड्राफ्ट कर्जा लिन बाध्य बनाउँदै आएको छ। ओभर ड्राफ्ट कर्जाको अवधि एक वर्षको मात्र हुने र कर्जा सम्झौता नविकरण गर्दा पुनः सेवा शुल्क असुली गर्न पाइने भएकाले एनआइसी एशियाले ऋणी ग्राहकलाई जबरजस्ती ओभर ड्राफ्ट कर्जा सुविधा लिन बाध्य बनाउँछ।

कानूनमा रहेका छिद्रहरु पत्ता लगाएर अनुचित बैंकिङ्ग अभ्यासमार्फत् सर्वसाधारण ग्राहकलाई ठगी गर्ने भन्दै एनआइसी एशिया आलोचित हुँदै आएको छ। अनुचित बै‌ंकिङ्ग अभ्यास गरेको प्रमाणका आधारमा एनआइसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले पटक पटक जरिवानासहितको कारवाही समेत गरेको छ।