• गृहपृष्ठ
  • आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

Jan 16th, 2024

काठमाडौं, माघ २

आज नेपालमा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विक्रम संवत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

सरकारले देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५५ साल माघ २ गतेदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको छ ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारा तय गरिएको छ ।

विक्रम संवत १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार सो भूकम्पमा परी ८ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो ।