• गृहपृष्ठ
  • स्वास्थ्य बीमा सेवा लिँदा माघ १ गतेदेखि १० प्रतिशत पैसा तिर्नुपर्ने

स्वास्थ्य बीमा सेवा लिँदा माघ १ गतेदेखि १० प्रतिशत पैसा तिर्नुपर्ने

Jan 11th, 2024

काठमाडौं, पुस २६
स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने सह–भुक्तानी (को–पेमेन्ट) प्रणाली शुरु गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले माघ १ गतेदेखि बीमितले तोकिएको स्वास्थ्य सेवा लिँदा लाग्ने खर्चको १० प्रतिशत शुल्क आफैले तिर्नुपर्ने व्यवस्था गरिएको बताए ।

अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचरात्मक, शल्यक्रिया, फिजियोथेरापी र पर्नुस्थापना सेवा लिँदा यो व्यवस्था लागू हुन्छ भने लक्षित वर्ग, प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका सरकारी अस्पताल, आकस्मिक अवस्थामा स्वास्थ्य सेवा लिँदा यो व्यवस्था लागू नहुने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार बिमित सेवाग्राहीबाट लिइएको १० प्रतिशत रकम र स्वास्थ्य बीमा बोर्डमा दाबी गरेको ९० प्रतिशत रकम सम्बन्धी प्रतिवेदन अनुसूची ९१० अनुसार भरी मासिक रुपमा स्वास्थ्य बीमा बोर्डमा अर्को महिनाको ७ गते भित्र अस्पतालले पठाउनु पर्नेछ ।

यस व्यवस्थाले स्वास्थ्य बीमा कार्यक्रमलाई जबाफदेही र पारदर्शी बनाउन मद्दत गर्ने र कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउने उल्लेख गरिएको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजना बढाउने उल्लेख गरेको छ । पाँच जनासम्म सदस्य भएको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान रकम तिरी एक लाख रुपैयाँसम्मको सुविधा रहेकोमा अब योगदान रकममा पुनरावलोकन गरी सुविधाको दायरा बढाउने तयारी गरिएको बोर्डले उल्लेख गरेको छ ।