• गृहपृष्ठ
  • ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि पाटन अस्पतालसँग सहकार्य

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि पाटन अस्पतालसँग सहकार्य

Jan 10th, 2024

ललितपुर, पुस २५

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गरेकाे छ ।

आज आयोजित कार्यक्रममा प्रमुख चिरीबाबु महर्जन र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्रा डा.पारस कुमार आचार्य बीच सम्झदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख महर्जनले यही पुष २ गते ‘महानगरको १०५ औं स्थापना दिवस’ को अवसर पारेर आफूहरुले अपाङ्गता भएका दुई व्यक्तिलाई बीमाको कार्ड प्रदान गरी सो कामको सुरु गरेको र आउने फागुन १ गतेदेखि सम्पूर्ण नगरवासीका लागि पूर्ण रुपमा सुचारु गर्ने समेत बताए ।

कार्यक्रममा बाेल्दै मेयर महर्जनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विशेष पहिचान बनाउन सफल भएको पाटन अस्पतालसँग सहकार्य गर्न पाउँदा आफूहरु ज्यादै हर्षित भएकाे बताए ।

यस्तै, पाटन अस्पतालका रजिष्टार आचार्यले प्रतिष्ठानलाई योग्य ठानेर महानगरले बीमा सम्बन्धी प्राविधिक सहयोगका लागि अवसर दिएकोमा आफूहरु ज्यादै खुशी भएको जानकारी दिए ।

महानगरले पाटन अस्पतालसँग बुधबार गरेको समझदारी पत्रमा विशेषज्ञ चिकित्सक सहितको बहिरंग तथा आकस्मिक एवं फार्मेसी र एम्बुलेन्स सेवा दिनाका साथै रेडियोलोजी सेवा समेत दिइने उल्लेख गरिएको छ ।

यसैगरी स्वास्थ्य बीमा अन्तर्गतको दाबी भुक्तानीको विवरणको हरहिसाब तोकिए बमोजिमको ढाँचामा राख्ने तथा स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी लिने दायित्व महानगरको हुने समेत पत्रमा भनिएको छ ।

त्यसैगरी सो समझदारीको अवधि १० वर्षसम्म रहने र स्वास्थ्य बीमा कार्यक्रममा प्राविधिक कामका लागि ललितपुर महानगरको पाटन अस्पतालसँग सहकार्य हुने उल्लेख गरेको पाइन्छ ।