• गृहपृष्ठ
  • ग्रामीण विकास कृषि सहकारी ठगी प्रकरण: एउटै सहकारीका ६ जना सञ्चालक कारागार चलान

ग्रामीण विकास कृषि सहकारी ठगी प्रकरण: एउटै सहकारीका ६ जना सञ्चालक कारागार चलान

Jan 10th, 2024

काठमाडौं, पुस २५

जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका पर्वत कुश्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारी संस्थाका  रकम हिनामिनाको आरोपमा पक्राउ परेका ६ अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

बचतकर्ताको रकम ठगी गरेको आरोपमा आइतबार पर्वत जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले प्रहरीको हिरासतमा रहेका सवै सञ्चालकलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

सहकारीबाट पिडित ६० जना बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिई सहकारीका अध्यक्ष लेखनाथ शर्मासहित ६ जनालाई मंसिर १३ गते नियन्त्रणमा लिई हिरासत कक्षमा राखेर अनुसन्धान अघि बढाइरहेको थियो ।

प्रहरीले हिरासतबाटै सहकारी सञ्चालकहरुलाई सहकारी विज्ञकै उपस्थितिमा अनुसन्धान गरी पुस ८ गते पर्वत जिल्ला अदालतमा पेश गरेको थियो ।

आइतबार अदालतले उक्त सहकारीका अध्यक्ष लेखनाथ शर्मासहित नियन्त्रणमा रहेका शालिग्राम पाध्या, विष्णुप्रसाद तिवारी, धनपति आचार्य, राजु शर्मा र सफ्वेयर डिजाइनर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

यी बाहेक अन्य १४ जना अझै फरार रहेका छन् । अदालत श्रोतका अनुसार पिडितको उजुरीका आधारमा ९ करोड १५ लाख भन्दा बढी रकम ठगी गरेको आरोप छ ।