• गृहपृष्ठ
  • स्वास्थ्य परिक्षणको क्रममा यौन दुर्व्यवहार

स्वास्थ्य परिक्षणको क्रममा यौन दुर्व्यवहार

Jan 9th, 2024

काठमाडौं, पुस २४

स्वास्थ्य परिक्षणको क्रममा यौन दुर्व्यवहार गरेको भन्दै चिकित्सक जसवन शाक्यविरुद्ध अदालतमा उजुरी दर्ता भएको छ। ग्रान्डी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा डा शाक्यले विना अनुमति संवेदनशील अङ्ग हेरेको भन्दै एक युवतीले काठमाडौं जिल्ला अदालतमा उजुरी दर्ता गरेकी हुन्।

डा शाक्यको व्यवहार असहज लागेपछि उनलाई त्यसबारेमा जानकारी गराउँदा समेत वास्ता नगरी भित्री वस्त्र तानेर गुप्ताङग नियाली भद्दा र अश्लील टिप्पणी गरेको उजुरीमा उल्लेख छ। उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ।

शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ। शाक्यविरुद्ध नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परे पनि काउन्सिलले कुनै निर्णय गरेको छैन।

ती युवतीका अनुसार उनी असोज ३ गते ग्राण्डी अस्पतालमा सर्जरीको परामर्श लिन र स्वस्थ परीक्षण गराउन गएकी थिइन्। परीक्षण कक्षमा पुगेकी युवतीको अनुमति नै नलिई उनले उनको गोप्य अंग हेरेका थिए।