• गृहपृष्ठ
  • कालिका सहकारीका संस्थापक अध्यक्ष घिमिरे पक्राउ, घिमिरेपत्नी भने अझै फरार

कालिका सहकारीका संस्थापक अध्यक्ष घिमिरे पक्राउ, घिमिरेपत्नी भने अझै फरार

Jan 9th, 2024

काठमाडौं, पुस २४

लमजुङ / बेंसीसहरको कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीमा भएको ठगी प्रकरणमा मुख्य दोषी भनिएका घिमिरेलाई आइतबार दिउँसो काठमाडौंको धापासीमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

स्थापना कालको कालिका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेका घिमिरेविरुद्ध जिल्ला अदालतमा सहकारी कसुर ऐन र ठगी गरी २ वटा मुद्दा चलिरहेका छन् ।

घिमिरेपत्नी विनिता अधिकारी घिमिरे भने अझै फरार छिन् । उनी कालिका सहकारीका संस्थापक प्रबन्धक र एकीकरणपछिको कोषाध्यक्ष समेत हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले काठमाडौमा पक्राउ परेका घिमिरेलाई सोमबारसम्म लमजुङ ल्याइपुर्‍याउने बताए ।

कालीका सहकारी ठगीको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारी सम्बद्ध ३४ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा पहिलो चरणमा ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । पक्राउ परेका ७ जना जिल्ला अदालत लमजुङको आदेशमा धरौटीमा रिहा भएका छन् भने २७ जनालाई पक्रन जिल्ला अदालतले आदेश दिएको छ । अदालतले दिएको म्याद बुधवार सकिदैछ ।