• गृहपृष्ठ
  • रियल गोर्खा सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ

रियल गोर्खा सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ

Jan 8th, 2024

काठमाडौं, पुस २३

काठमाडौंमा रहेको एक सहकारीका अध्यक्ष र सदस्य पक्राउ परेका छन् । काठमाडौंको तीनकुनेस्थित केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले गत बुधबार पक्राउ गरेको हो । 

बुधबार नै उनीहरूलाई पक्राउ गरिए पनि सीआईबीले आज मात्र सार्वजनिक गरेको हो ।

उक्त सहकारीले जोरपाटी र भक्तपुरमा पनि शाखा सञ्चालन गरेको र सहकारीमा पैसा जम्मा गरेबापत आकर्षक ब्याज आउने भन्दै उनीहरूले बचतकर्तालाई लोभ देखाएको र पैसा फिर्ता नदिएको पनि सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । बचतकर्ताले पटक-पटक ताकेता गर्दा पनि अध्यक्ष कठायतले पैसा फिर्ता नगरी संस्था नै बन्द गरी फरार भएका थिए ।

सिआइबीमा प्राप्त जाहेरीअनुसार उनीहरूले १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ बचत रकम अपचलन गरी हिनामिना गरेको आरोप छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।