• गृहपृष्ठ
  • अम्बेकोशी ठगी प्रकरणः अध्यक्ष फणीन्द्र मगर सहित गजमेर पुर्पक्षका लागि थुनामा

अम्बेकोशी ठगी प्रकरणः अध्यक्ष फणीन्द्र मगर सहित गजमेर पुर्पक्षका लागि थुनामा

Jan 7th, 2024

सुनसरीको इटहरीमा रहेको अम्बेकोशी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र बहादुर पुर्बछाने मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले आज उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।

यस्तै सहकारीका सञ्चालक समिति सदस्य शिला गजमेर पनि अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले बताए ।

पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ भने गजमेरलाई जिल्ला कारागार कार्यालय मोरङ लगिएको छ ।

यस्तै पक्राउ परेका लेखा सुपरिवेक्षण समितिका संयोजक राहुल अग्रवाल १० लाख  र लेखा समितिकै सदस्य कुमार आले  ५ लाख धरौटी बुझाएर तारेखमा रिहाइ भएका छन् ।

११ जनाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गरे पनि प्रहरीले भने ४ जनालाई मात्र पक्राउ गरेको थियो ।

सहकारीका उपाध्यक्ष देवेन्द्र बस्नेत,सदस्य मीनकुमार आले मगर,सागर राई,टेक बहादुर चर्मकार,राजकुमार तामाङ,सहकारीका व्यवस्थापक भोजकुमार आले मगर र लेखा समिति सदस्य किरण आले भने अहिले सम्म फरार रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण युनिटहरू मार्फत खोजी गरिए पनि पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।

सहकारी ऐन २०७४ अन्तर्गत दफा १२२ अन्तर्गत १० करोड देखि माथि १ अरब सम्म माग दाबी सहितको बिगो भएमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गर्ने उल्लेख छ ।