• गृहपृष्ठ
  • मैनालीद्वारा लिखित तथा सङ्कलित तीन कृति विमोचन

मैनालीद्वारा लिखित तथा सङ्कलित तीन कृति विमोचन

Dec 29th, 2023

काठमाडौं, पुस १३

मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीद्वारा लिखित तथा सङ्कलित ‘कलाका कुरा’ तथा ‘मेरो कामना’ एवं ‘सिर्जना र विवेचना’ नामक तीन कृति विमोचन भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र नेपाली समसामयिक मूर्तिकारहरूको समूह (आरम्भ) को संयुक्त आयोजनामा उक्त पुस्तकलाई प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल र ज्ञानेन्द्र विवश लगायतले आज सार्वजनिक गरेका हुन् ।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले लेखक मैनाली नेपाली आधुनिक मूर्तिकला क्षेत्रका विशिष्ट प्रतिभा रहेका भनाइ राखे । उनले भने, “उहाँ आधुनिक मूर्तिकलाको रत्न हुनुहुन्छ ।”

लेखक तथा प्राज्ञ ज्ञानेन्द्र विवशले ठाकुरप्रसाद मैनाली समग्र नेपाली कलाको दस्तावेजको भएका धारणा राखे । उनले भने, “यस कृतिलाई कलाकार तथा विद्यार्थीले सन्दर्भ सामाग्रीको रूपमा लिने छन् ।”

प्रतिष्ठानका कुलपति हार्तम्छालीले कृतिकार मैनाली जिउँदो सम्पदा रहेको दाबी गरे ।

उपकुलपति लामाले मैनालीले विविध पाटोमा काम गर्न सकिन्छ भनेर पुस्तक मार्फत सन्देश दिएका धारणा राखे ।

उक्त अवसरमा बोल्दै लेखक मैनालीले आफूले भन्नुपर्ने सबैकुरा पुस्तक मै भएको जानकारी गराउँदै पुस्तक लोकार्पण गरिदिएकामा प्रतिष्ठान एवं उपस्थित सम्पूर्ण व्यक्तिलाई धन्यवाद ज्ञापन गरे ।

मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सार्वजनिक पुस्तकहरू वास्तवमै कला तथा इतिहासका दस्तावेज भएको भनाइ राखे ।