• गृहपृष्ठ
  • महिलालाई पोलमा बाँधेर कुटपिट गरेको आरोपमा श्रीमानसहित ७ जना पक्राउ

महिलालाई पोलमा बाँधेर कुटपिट गरेको आरोपमा श्रीमानसहित ७ जना पक्राउ

Dec 28th, 2023

काठमाडौं, पुस १२

सिन्धुली सदरमुकामस्थित ढकाल गाउँमा एक महिलालाई गाउँलेहरूले पोलमा बाँधेर कुटपिट गरेका छन्। कमलामाई नगरपालिका–४ घर भएकी शारदा थापालाई गाउँलेहरूले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका हुन्।

कुटपिटमा संलग्न आरोपमा शारदाका श्रीमान सन्तोष थापा सहित ७ जनालाई पक्राउ गरिएको सिन्धुली प्रहरीले बताए। कुटपिटमा संलग्न स्थानीय र सन्तोषको बिचमा लेनदेन विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । थापा दम्पतिबीच लामो समयदेखि घरायसी विवाद रहेको पनि खुलेको छ। त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको प्रहरीेले जनाएको छ ।

प्रहरीले आइतबार दिउँसो ४ बजे घटनाबारे जानकारी पाएको थियो। पोलमा बाँधेर स्थानीयले लाठी, हात र खुट्टाले निर्घात कुटपिट गरेको आरोप छ।