• गृहपृष्ठ
  • सहकारी ठगी: १६ अर्ब ठगेर गरेर ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राई अझै फरार

सहकारी ठगी: १६ अर्ब ठगेर गरेर ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राई अझै फरार

Dec 23rd, 2023

काठमाडाैं, पुस ७

सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब रुपैयाँ ठगेर फरार भएका गीतेन्द्रबाबु राई (जिबी राई) अझै पक्राउ परेका छैनन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले दिएको उजुरीका आधारमा कास्की जिल्ला अदालतले भदौ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, हालसम्म पनि उनी पक्राउ परेका छैनन् । उनी अझै पनि प्रहरीको फरार सूचीमै रहेका छन् ।

यसो त ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जिबी राई सूर्यदर्शन मात्र होइन अन्य थुप्रै सहकारीमा भएको ठगीमा पनि मुछिएका छन् ।

उनी विभिन्न सहकारीलाई कानुनविपरित ऋण प्रवाह गरी भएको रकम हिनामिनामा पनि मुछिएका छन् ।

देशभर सहकारी नेटवर्किङ खडा गरेर ठगी गर्ने राईको समूहमा दार्चुलाका भूपेन्द्र राई, बाग्लुङका थानबहादुर बुढामगर, ललितपुरका कुमार रम्तेल र हेमन्त थापा रहेका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जिबी राईसहित १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, हाल सहकारीका कोषध्यक्ष कुमार रम्तेल मात्रै पक्राउ परेका छन् ।

आफुहरुको करोडौँ रकम डुबेपछि अहिले सहकारीका बचतकर्ताहरु बचत फिर्ताको माग गर्दै सडक संघर्ष गरिरहेका छन् । तर, सहकारी ठगीका नाइकेसहितका अन्य पक्राउ पर्न नसक्दा उक्त केस अघि बढ्न सकेको छैन ।

पक्राउ पुर्जी जारी भएकाहरुविरुद्ध जिल्ला अदालतका कास्कीमा दर्ता गरिएको मुद्दामा बिगो, बिगो अनुसारको जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग गरिएको छ ।

यता सहकारी ठगीका नाइके जिबी राई फरार भएपछि उनी सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा केही दिन अघिदेखि नै सबै काम बन्द भएको छ ।