• गृहपृष्ठ
  • काठमाडौंमा एक्सिलेरेटिङ डिजिटल एन्ड इकोनोमिक ट्रान्स्फर्मेसन’ विषयक कार्यक्रम सम्पन्न

काठमाडौंमा एक्सिलेरेटिङ डिजिटल एन्ड इकोनोमिक ट्रान्स्फर्मेसन’ विषयक कार्यक्रम सम्पन्न

Nov 30th, 2023

काठमाडौं, मंसिर १४

नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ट्रेड एन्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा बुधबार काठमाडौंमा एक्सिलेरेटिङ डिजिटल एन्ड इकोनोमिक ट्रान्स्फर्मेसन’ विषयक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डिजिटल अर्थतन्त्रको विकासलाई गति दिन फाइभजी प्रविधि प्रयोगबारे वृहत् छलफल भएको थियो । यसका लगि फाइभजी प्रविधिको मुख्य विशेषता, ग्लोबल ट्रेन्ड,  फाइभजी प्रविधिको परिदृश्य र आर्थिक मूल्याङ्कन, फाइभजी प्रविधि प्रयोग गरेका देशका केस स्टडीहरूको चर्चा, नेपालमा फाइभजी सेवा अवलम्बन गर्दा अपनाउनुपर्ने रणनीति तथा योजनाबारे सरोकारवालाबीच सार्थक अन्तर्क्रिया भएको थियो ।

यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पौडेलले फाइभजीको विकास र कार्यान्वयनका सम्बन्धमा सरकारको दृष्टिकोण तथा हालको प्रगति अवस्थाबारे प्रस्तुति दिएका थिए । त्यस्तै मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अष्ट्रेलियाका सिनियर लेक्चरर तथा कोर्स कोअर्डिनेटर राजन कंडेलले विभिन्न देशमा फाइभजीले व्यवसाय तथा अर्थतन्त्रमा पारेको प्रभावबारे विश्लेषणसहितको प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अर्को सत्रमा ‘अनलिशिङ द इकोनोमिक पोटेन्सियल अफ फाइभजी टेक्नोलोजी’ विषयमा प्यानल डिस्कसन भएको थियो । उक्त प्यानल डिस्कसनको मोडेरेसन आईसीटी विज्ञ डा. विवेककुमार राणाले गरेका थिए । छलफलमा सरकार, दूरसञ्चार तथा निजी क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरूले भाग लिएका थिए । यसअन्तर्गत फाइभजीबाट लाभान्वित हुने आर्थिक क्षेत्रहरूको चर्चा, उद्यमशीलता र स्टार्टअपलाई बढावा दिन फाइभजीको भूमिका तथा फाइभजीमा सार्वजनिक/निजी साझेदारीको महत्त्व लगायतका विषयमा छलफल भएको थियो । सो प्यानल डिस्कसनमा दूरसञ्चार प्राधिकणका डा. प्रदिप पौडेल, नेपाल टेलिकमी निर्देएशक रिना डंगोल, खल्ती वालेटका सहसंस्थापक अमित अग्रवाल, मेलबर्न कंडेल सहभागी थिए ।

समग्रमा फाइभजीको सम्भाव्यता र यसले देशको डिजिटल परिदृश्यमा पार्न सक्ने प्रभावबारे चर्चा गर्नु, नेपालमा फाइभजीमा लगानी गर्न निजी क्षेत्र र फाइभजीप्रविधि प्रदायकलाई प्रोत्साहन गर्नु तथा सरोकारवालाहरूबीच अन्तर्क्रिया गराउनु यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । फाइभजीले नेपाल जस्तो देशमा अर्थतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिने चर्चा गरेका थिए । साथै दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकम ग्रामीण क्षेत्रमै पूर्वाधारमा लगानीमा सदुपयोग हुनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रममा दूरसञ्चार कम्पनी, उद्योग विशेषज्ञ, इन्टरनेट सेवाप्रदायक, ईकमर्स कम्पनी तथा व्यवसायहरू, सरकारी निकाय, अन्तर्राष्ट्रिय संघसंस्था तथा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।