• गृहपृष्ठ
  • जाजरकोट भूकम्पः त्रिपालमुनि अझैपनि एक हजार ७६ सुत्केरी, के गर्दै छ प्रशासन?

जाजरकोट भूकम्पः त्रिपालमुनि अझैपनि एक हजार ७६ सुत्केरी, के गर्दै छ प्रशासन?

Nov 28th, 2023

जाजरकोट ११ मंसिर

कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६।४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण चिसोले बिरामी पर्न थालेका छन् ।

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांकनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसंख्या प्रभावित भएका थिए । ४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए । पाँच वर्षमुनिका चार हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ६७४ गर्भवती, २८२ सुत्केरी, दुई हजार ८३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र ४०८ अपांगता भएका व्यक्तिसहित नौ हजार ३८० जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

कुशे गाउँपालिकामा २५ हजार ८१५ जनसंख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । पाँच वर्षमुनिका दुई हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ५१५ जना गर्भवती, २३० सुत्केरी, ९२० ज्येष्ठ नागरिक, २७७ दीर्घरोगी र ८८ अपांगता भएका व्यक्तिसहित चार हजार ९७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार ३५२ जनसंख्या प्रभावित भएका थिए । एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।

पाँच वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपांगता भएकासहित ७४३ जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ ।

नलगाड नगरपालिकामा २९ हजार २०९ जनसंख्या प्रभावित भएका थिए । ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए । पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ३३१ गर्भवती, ३७४ सुत्केरी, एक हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपांगता भएका व्यक्तिसहित तीन हजार हजार ९४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन् । एक स्वास्थ्य संस्था पूर्णरूपमा र पाँचवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

बारेकोट गाउँपालिकामा १९ हजार ६७६ जनसंख्या प्रभावित भएका थिए भने दशजना घाइते भएका थिए । पाँच वर्षमुनिका एक हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, ४३९ ज्येष्ठ नागरिक, २२३ दीर्घरोगी र ४५ अपांगता भएका व्यक्तिसहित दुई हजार ४१७ जना भूकम्पको प्रभावबाट जोखिममा छन् ।

पूर्णरूपमा एक र आंशिकरूपमा चार स्वास्थ्य संस्था भत्किएका छन् । भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८४३ जना प्रभावित भएका थिए । दुई जना घाइते भएका थिए । पाँच वर्षमुनिका ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९ गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगतासहित ४४६ जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । दुईवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ ।

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा एक हजार ९५० जनसंख्या प्रभावित भएका थिए । पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपांगतासहित २८३ जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । १५ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएका छन् ।

भूकम्पबाट एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसंख्या २२ हजार २०६ रहेको छ । पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार ८३२ दीर्घरोगी, ८५० जना अपांगता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।

विवरण अझै संकलन हुँदै

मंसिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन । पालिकाले भने मंसिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्यांक संकलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन् ।

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्यांक संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन् । अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए । – हेमन्त केशी